धनगढी–विपीनगर–दिपायल द्रुतमार्ग अलपत्र

बजेटमा सो योजनाको नामै उल्लेख नगरेपछि महिना दिनमै डोटेली मुहारहरू अँध्यारो भए

मोहन शाही
११ साउन २०८० ५:३९
धनगढी–विपीनगर–दिपायल द्रुतमार्ग अलपत्र
(डोटी)– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहसँग नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले धनगढी–विपीनगर–दिपायल द्रुतमार्गलाई पहिलो प्राथमिकता राखी बजेट विनियोजन गरिदिन आग्रह गरे । गत जेठ १३ गते नेपाली काँग्रेस डोटीको आयोजनामा सम्पन्न जिल्ला सम्मेलनमा मुख्यमन्त्री शाहले नेता कार्यकर्ताबिच प्राथमिकताका साथ बजेट दिने प्रतिबद्धता गरेपछि डोटेलीमा खुसीयाली  छायो ।
तर प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ का लागि पारित बजेटमा सो योजनाको नामै उल्लेख नगरेपछि महिना दिनमै डोटेली मुहारहरू अँध्यारो भए । प्रदेश सरकारको प्राथमिकतामा नपरेको यो आयोजना सङ्घीय सरकार मातहत छ ।
सङ्घीय सरकारले भने यस आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ । डोटी काँग्रेसका सभापति नरेन्द्र बहादुर सिंहले पटक पटक पहल गर्दा पनि प्रदेश र सङ्घीय सरकार जबाफदेही हुन नसकेको आरोप लगाए । ‘डोटीमै पुगेर हाम्रा अगाडि हालेको बचनसमेत प्रदेश सरकारले पुरा गरेन’, सभापति सिंहले भने, ‘हालसम्मका सबै सरकारबाट यो सडकलाई राजनैतिक एजेन्डा बनाउने तर सत्तामा पुगेपछि बेवारिसे छाड्ने काम मात्र भए ।’ आफ्नै पार्टी सरकारमा हुँदा पनि बजेट विनियोजन नगर्दा जनतासामु लज्जित हुनुपरिरहेको दुखेसो पार्टी सभापति सिंहको        छ ।
सङ्घीय सरकारले समेत यो सडकलाई उपेक्षा गरेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपक खड्काले आरोप लगाए । ‘सडकका लागि नेताहरूलाई फूल माला सहित डोटेली जनताका तर्फबाट पटक पटक बिन्ती पत्र, ज्ञापन र दबाब दियौँ’, महासचिव खड्काले भने, ‘तर पहाडी जिल्लाप्रति सरकार कहिल्यै सकारात्मक भएन ।’
बजेट अभावकै कारण ०६६ साल यताबाट अलपत्र पारिँदै आएको धनगढी देखि दिपायल द्रुतमार्ग बझांङ्ग हुँदै उरैभञ्ज्यांगसम्म जोड्ने महत्वकांक्षि योजना हो । धनगढी देखि उरैभञ्ज्यांगसम्म १ सय ८६ किलोमीटरका लागि ७ अर्ब रुपैयाँको लागत अनुमान गरिएको धनगढी–खुटिया–विपीनगर–दिपायल–बझाङ–उरैभञ्ज्यांग सडक आयोजना विपीनगरका इन्जिनियर दिनेश रैखोलाले बताए । तर हालसम्म जम्मा ७२ करोड मात्र यो सडकमा बजेट सरकारले दिएको छ ।
हाल धनगढी देखि दिपायलसम्मको २ सय १० किलोमिटर दुरी छोटिएर ९६ किलोमिटर रहने यो मार्गले ७ वटै पहाडी जिल्लालाई राहत दिने आशा स्थानीयमा छ । यस सडकलाई पश्चिम नेपालको भाग्य रेखा समेत भनिँदै आए पनि सरकारले बेवास्ता गर्नु खेदजनक रहेको आदर्श गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।  पालिका प्रमुखहरूले संयुक्त रूपमा गई सङ्घीय र प्रदेश सरकारसँग माग राख्दा पनि सुनुवाइ नगरिएको अध्यक्ष खड्काले स्मरण गरे ।
काम सुरु भएको १४ वर्षपछि धनगढी देखि दिपायलसम्म गतबर्षमात्रै सडकको ट्र्याक खुलेको छ । त्यो पनि ठाउँ ठाउँमा पहिरो आउँदा , खोल्साखोल्सी तथा सिङ्गल ट्र्याक भएका कारण सुचारु भएको छैन ।
न्यून बजेटका कारण राजपुर देखि बिपी नगर सडक खण्डमा भने गत आर्थिक वर्ष  (०७९÷०८०) मा ३ वटा नाली निर्माण, सडक क्रसिंगका लागि होम पाइप राख्ने र सिल्याप बटमको काम मात्र गरिएको थियो । धनगढी दिपायल खण्डमा पर्ने ९ वटा पुलको ठेक्का लगाइसकिएको सडक आयोजनाले बताएको छ । यद्यपि मापदण्डमा सडकको चौडाइ ९ मिटर हुनुपर्ने उल्लेख भए पनि ४० किलोमिटर लामो सडक खण्डमा साढे ५ मिटर चौडाइ  सिङ्गल कटिङ गरिएको छ ।
इञ्जनियर रैखोलाले सरकारसँग कुलपाते देखि सलेनासम्म कालोपत्रेका लागि बहुबर्षिय योजना बनाइ बजेट माग गरिएको बताए । अघिल्लो आर्थिक वर्षमा ठेक्कामार्फत काम सम्पन्न भएको ४ करोड रुपैयाँ समेत सडक आयोजना कार्यालयले दिन सकेको छैन ।
चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट प्राप्त बजेटबाट कुलपाते देखि सलेनासम्म कालोपत्रे गर्ने तयारीमा रहेको इन्जिनियर रैखोलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *