डोटीमा भ्रष्टाचार विरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गणेश मौनी
४ जेठ २०८० १५:५७
डोटीमा भ्रष्टाचार विरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

डोटी ।बास नेपाल डोटी शाखाले डोटीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
शाखाले भ्रष्टाचार विरुद्ध प्रजिअ मार्फत विभिन्न मागहरु राख्दै बुधबार ज्ञापन पत्र बुझाएको हो ।
देशमा भ्रष्टाचार संस्थागत रुपमा बिकास भई बिगतमा कैयौं भ्रष्टाचारका काण्डहरु घटे, ती काण्डहरुका दोषीलाई कार्वाही नगरेरै काण्डहरुलाई गुपचुप बनाईयो । अहिले देशको छबिलाईनैं धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट बिश्वमा बद्नाम हुने स्थिति सृजना भएकोले व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको हुदाँ यस अपराधमा संलग्न कोही, कसैलाई पनि कुनै पनि बाहनामा नछाड्न ज्ञापन पत्रमा आग्रह गरिएको छ ।
प्रकरणमा बहालवाला गृह सचिव, पूर्ब गृह मन्त्री, पूर्ब उप–प्रधानमन्त्री लगायतका हाई प्रोफाईल व्यक्तिहरुलाई पक्राउ गरी सरकारले भ्रष्टाचारबाट आजित आमनागरिकहरुमा आशाको सञ्चार गराएकोले यस कार्यको हामी स्वागतगर्दछौं । तर,बिगतमा ठूला, ठूला भ्रष्टाचारका काण्डहरु छानविननै नभई सेलाएर जाने, अन्ततः राजनीतिक संरक्षणमा उन्मुक्तिदिने गरेका दृष्टान्तहरु जस्तै यो प्रकरण पनि हात्ति आयो हात्ति आयो फुस्सा नहोस् ।यस प्रकरणमा मुछिएका सम्पुर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला शाखाका पदाधीकारीहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने, भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरिनुपर्ने, राजनीतिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्था गरिनुपर्ने, सरकारको काम कारबाहीको सार्वजनिक सूचना प्रवाह र काममा पारदर्शिता कायम गरिनुपर्ने, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत बिकास गरिनुपर्ने, भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरिनुपर्ने, राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईनुपर्ने लगाएका सुझाबहरु उल्लेख गरिएका छन् ।
ज्ञापन पत्र बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटी जिल्लामा सेवा प्रदायक निकायले सेवा प्रबाह गर्ने सवालमा सेवालाई छिटो छरीतो, गुणस्तरीय, पारदर्शि बनाउन पूर्ण प्रतिबद्ध रहेको ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाईने बताईन् ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा बास सुदुरपश्चिम प्रदेश समितिका सचिब, जिल्ला अध्यक्ष र शाखाका पदाधीकारीहरुको सहभागिता रहेको थियो । बास नेपालले डोटी जिल्लामा विभिन्न समयमा सुशासन जवाफदेहीता, पारदर्शिता कायम गर्न विभिन्न दबाबमुलक कार्यक्रहरु संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *