कञ्चनपुरको मझगाउँ विमानस्थल निमार्णको काम रोकियो

पाँजलो न्युज
२० मंसिर २०७९ ९:१९
कञ्चनपुरको मझगाउँ विमानस्थल निमार्णको काम रोकियो

कञ्चनपुरः कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ। विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो।विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ। रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ। तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ। तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए।

“सेनाले भोगचलन गरिरहेको जग्गामा काम गर्न खोज्दा कामदार नियन्त्रणमा लिएपछि निमार्णकार्य प्रभावित भएको हो”, उनले भने। सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिए। जग्गा प्राप्तिकालागि तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा ढिलाइ भइरहेको उनको भनाइ छ।

“पछिल्लो समय दसैँ, तिहार जस्ता पर्व र निर्वाचनका कारणले काम हुन सकेन, अहिले पनि जग्गाको स्वामित्को काम प्रक्रियामै छ”, उनले भने। उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए। यसअघि सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति भएको थियो। उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ।कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश लेखकले विमानस्थल निमार्णको काम अघि बढाउन पहल भइरहेको बताए। “जग्गा प्राप्तिका विषयमा केही अलमल भएको हो त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ”, उनले भने “त्यसका लागि म आफै पनि मन्त्रालयमा पुगेको छु प्रक्रियागत कुराले ढिलाइ भएको हो।”

पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ। दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ। विसं २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *