डोटी– विधुतको न्यूनतम महसुल बुझाउन दिपायल जानुपर्ने बाध्यतावाट आदर्श गाउँपालिकाका जनता अव भने मुक्त भएका छन ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रले महसुल बुझाउने घुम्ती काउण्टर वडा नं २ को वडा कार्यालय मौवामा स्थापना गरेको छ ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्युत प्राधिकरण सूदूरपश्चिमका निर्देशक जंग बहादुर चन्दले रिबन काटेर घुम्ती काउण्टरको उद्घाटन गरेका छन ।
उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्का, नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंह लगायतको पहलबाट काउण्टरको स्थापना गर्न सफल भएको निर्देशक चन्दले बताए ।
निर्देशक चन्दले आदर्श र सायलका उपभोक्ताहरुलाई मध्यनजर गरेर जमिन उपलब्ध गराएमा स्थाइ काउण्टर स्थापनाका लागि समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंहले निर्देशक चन्द सामु आदर्श गाउँपालिकाको वडा नं. ६ लगायत डोटीका अन्य क्षेत्रमा पनि विद्युतवाट बञ्चीत भएका जनताहरुलाई सेवा विस्तारको माग राखे ।
काउण्टर स्थापना भएपछि आदर्श र सायलका जनताहरुलाइ राहत पुगेकोमा गाउँपालिका अध्यक्ष गणेश बहादुर खडका, उपाध्यक्ष लक्ष्मीधामी रोकाया, वडा नं. ५ कावडाध्यक्ष उत्तम सिंह लगायतले खुसी व्यक्त गरे ।
लामो संघर्षपछि पार्टी सभापति तथा तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिंङ्गको सहयोगमा विद्युत महसुल काउन्टर स्थापना गरिएको अध्यक्ष खड्काले बताए ।
आदर्श गाउँपालिकामा अव महिनाको दुइपटक ५–७ र १७–१८ गते महसुल बुझाउन सकिने नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख शिवशंकर सोनीले जानकारी दिए । उनले आदर्श र सायलमा चार हजार छ सय ५१ ग्राहक रहेको र उनीहरुवाट मासिक ४ लाख राजश्व संकलन हुने अनुमान गरे ।
प्रतिक्रिया