चन्दाकै भरमा धानिएको मष्टा संस्कृत गुरुकुल, १६ बटुकको भविष्य जोगाउने संघर्ष

आर्थिक अभावबीच परम्परागत संस्कृत शिक्षालाई जोगाउँदै अघि बढ्दै गुरुकुल

दिनेश जोशी
२५ चैत २०८२ ६:०४
चन्दाकै भरमा धानिएको मष्टा संस्कृत गुरुकुल, १६ बटुकको भविष्य जोगाउने संघर्ष

डोटी- आधुनिक शिक्षाको बढ्दो प्रभावका बीच परम्परागत संस्कृत शिक्षा जोगाइराख्न डोटीमा रहेको श्री मष्टा संस्कृत गुरुकुल विद्याश्रम संघर्षरत अवस्थामा सञ्चालन भइरहेको छ। हाल यस गुरुकुलमा १६ जना बटुकहरू अध्ययनरत छन्, जसले वेद, संस्कृत व्याकरण, पूजा–पाठ तथा धार्मिक संस्कार सम्बन्धी शिक्षा ग्रहण गरिरहेका छन्।

‎गुरुकुल केवल शिक्षा दिने केन्द्र मात्र होइन, यो हाम्रो मौलिक धर्म, संस्कार र परम्पराको जीवित धरोहर पनि हो। तर विडम्बना, यस्तो महत्वपूर्ण संस्थान आज आर्थिक अभावसँग जुधिरहेको छ। गुरुकुल पूर्ण रूपमा चन्दाकै भरमा सञ्चालन हुँदै आएको छ, जसका कारण दैनिक व्यवस्थापनमै चुनौती देखिएको छ।

‎गुरुकुलका बटुकहरू साधारण जीवनशैलीमा बसेर अध्ययन गरिरहेका छन्। उनीहरूको बसोबास, खानपानदेखि शैक्षिक सामग्रीसम्मको व्यवस्था जुटाउन गुरुकुललाई निकै कठिन भइरहेको छ। गुरुकुलका सञ्चालक धुर्ब राज फुलाराका अनुसार, “संस्कृत शिक्षा बचाउन हामीले जति सकिन्छ प्रयास गरिरहेका छौं, तर आर्थिक स्रोतको अभावले धेरै समस्या भोग्नुपरेको छ। चन्दाकै भरमा गुरुकुल सञ्चालन गर्नुपर्दा बटुकहरूको आधारभूत आवश्यकतासमेत पूरा गर्न चुनौती भइरहेको छ।”

‎स्थानीयवासीहरूका अनुसार यस्तो गुरुकुलले समाजमा नैतिकता, अनुशासन र धार्मिक चेतना फैलाउने काम गरिरहेको छ। त्यसैले यस्ता संस्थालाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ। उनीहरू भन्छन्, “यदि यस्ता गुरुकुलहरू बन्द भए भने हाम्रो परम्परा र संस्कार नै हराउने खतरा हुन्छ।”

‎यस्तै अवस्थामा गुरुकुललाई दिगो रूपमा सञ्चालन गर्न सरकारी निकाय, स्थानीय तह तथा निजी क्षेत्रको ध्यान जानु आवश्यक देखिन्छ। सहयोग र संरक्षण अभावमा यस्ता ऐतिहासिक तथा सांस्कृतिक संस्थाहरू विस्तारै हराउँदै जाने चिन्ता बढेको छ।

१६ जना बटुकहरूको भविष्यसँग जोडिएको यो गुरुकुल केवल एउटा विद्यालय मात्र नभई हाम्रो पहिचान र संस्कृतिको संरक्षण गर्ने केन्द्र हो। त्यसैले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साथ र सहयोग अपरिहार्य देखिन्छ ।

तस्बिर- दिनेश जोशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *