दिनेश जोशी डोटी- डोटीमा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘डोटी गोल्ड कप २०८२’ फुटबल प्रतियोगिता निर्वाचन आचारसंहिताका कारण स्थगित भएपछि नयाँ मितिमा सञ्चालन हुन लागेको छ। यसअघि माघ १३ देखि १९ गतेसम्म सञ्चालन गर्ने तय गरिएको प्रतियोगिता अब चैत ५ देखि ११ गतेसम्म हुने भएको हो।
शिलास्थान युवा क्लब, डोटीको आयोजनामा हुने उक्त ९ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता सिलगढीस्थित टुडिखेल मैदानमा सञ्चालन गरिने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष हिक्मत मलासीका अनुसार निर्वाचनका कारण लागू गरिएको आचारसंहिताले कार्यक्रम सञ्चालनमा कठिनाइ भएपछि प्रतियोगिता नयाँ मितिमा सारिएको हो। खेलकुदमार्फत जिल्लामा नयाँ प्रतिभाको खोजी र खेल गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति चैत्र ३ गतेसम्म राखिएको क्लबले जानकारी दिएको छ।
डोटी जिल्लाकै इतिहासमा ठूलो नगद राशिको प्रतियोगिता मानिएको ‘डोटी गोल्ड कप’ मा जिल्लासहित बाहिरी टिमहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।






प्रतिक्रिया