डोटी- डोटी जिल्लामा ट्राफिक नियम उल्लङ्घन रोक्न ट्राफिक सप्ताह २०८२ अन्तर्गत कडा निगरानी र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक तेज साउदले सो अवसरमा जानकारी दिँदै, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको आयोजना अनुसार सदरमुकामका मुख्य सडक तथा बजार क्षेत्रमा सचेतना र्याली निकालिएको थियो। कार्यक्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले हेलमेट प्रयोग, सिटबेल्ट प्रयोग, सुरक्षित गति, ओभरलोड नगर्नेलगायत ट्राफिक नियम पालनाको सन्देश लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरे।
ट्राफिक प्रहरीले सप्ताहभरि मादक पदार्थ सेवन गरेर सवारी चलाउने, चालक अनुमति पत्र विना सवारी चलाउने, नियम उल्लङ्घन गर्ने सवारी चालकलगायतमा कडा निगरानी राखेको छ। आवश्यक परे सम्झाइ–बुझाइ, सचेतना कक्षा र कानुनी कारबाहीसमेत गरिएको छ।
साउदका अनुसार विद्यालय आसपास, बजार क्षेत्र र दुर्घटना सम्भावित स्थानहरूमा ट्राफिक चेकजाँच बढाइएको छ। उनले भने, “यस अभियानबाट सडक अनुशासन मजबुत हुनेछ र सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएको छ।”
ट्राफिक सप्ताह माघ १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुँदैछ। ट्राफिक प्रहरीले सर्वसाधारणलाई नियम पालना गर्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सतर्क रहन आग्रह गरेको छ।







प्रतिक्रिया