बोगटान बाट दिपायल जादै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

पाँजलो न्युज
१९ जेठ २०८२ ७:३६
बोगटान बाट दिपायल जादै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

डोटीको के.आई.सिंह गाउँपालिका–५ केदार गाउँमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । आज बिहान साढे ९ बजेको समयमा बोगटान फुड्सिलको गगुडाबाट दिपायल तर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र ८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सडकको घुम्तीमा आफै अनियन्त्रित भई जिप एक सय मिटर तल खस्दा जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका वर्ष ४२ का मीन बमको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका बमलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डोटी प्रहरीका सूचना अधिकारी दीपेन्द्र कुमार पालले जानकारी दिए ।

साथै जिप चालक सहित आठ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा जिप चालक कैलालीको धनगढी उपमहानगर–१८ का २४ वर्षका हरिचन्द्र चौधरी, बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाकी ५० वर्षकी चना देवी चन्द, सोही ठाउँकी ४० वर्षकी महेश्वरी देवी चन्द र ४२ वर्षकी बिर्मा देवी चन्द रहेकी छन् । त्यस्तै के.आई.सिंह गाउँपालिका–४ का ४७ वर्षका नरेश प्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलकी वर्ष २३ की राधिका देउवा, राधिकाकी २ वर्षकी छोरी रियान्सा देउवा र बोगटान फुड्सिल गाउँपालिका– का १९ वर्षीय धनबहादुर बम घाइते भएका छन् । घाइतेहरूमा एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र दुई जनाको सामान्य रहेको छ । घाइते सबैको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *