कैलालीको राष्ट्रिय कलेजमा भर्ना नै नभएका विद्यार्थी स्ववियु सभापति

पाँजलो न्युज
१८ वैशाख २०८२ ९:०४
कैलालीको राष्ट्रिय कलेजमा भर्ना नै नभएका विद्यार्थी स्ववियु सभापति

डोटी- कैलालीको घोडाघाडी नगरपालिका–१ सुखडको राष्ट्रिय कलेजमा भर्ना नभएका विद्यार्थी स्ववियु सभापति भएका खुलेको छ। राष्ट्रिय कलेजमा चैत्र ४ गते भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई अखिल क्रान्तिकारीका सुन्दर गौतमले भारी मतले हराएर विजयी भएका थिए।

 

स्ववियु निर्वाचन प्रक्रिया कै बेला फर्जी विद्यार्थीको बहस सुरु भएपनि गौतम भने त्यसमा नमुछिएको जस्तै देखिएका थिए। क्याम्पस प्रशासनकै लेखापाल लक्ष्मण चौधरीले भर्ना भएका विद्यार्थीहरूको नाम राख्ने लेजरमा गौतमको पनि नाम चढाएका थिए। प्रमाणको लागि रकम तिरेको भन्दै फर्जी रसिद नम्बर तयार गरेर लेजरमा राखिएको थियो।

स्ववियु सभापति निर्वाचित भएको करिब एक डेढ महिना पछि गौतम फर्जी विद्यार्थी रहेको र किर्ते प्रमाणहरू तयार गरेको खुलेको हो। गौतमले केही प्राध्यापकहरूलाई आफ्नो भर्ना गरिदिन र शुल्क समेत तिर्न भनेका आरोप छ। तर, गौतमले भनेका व्यक्तिले तोकिएको समयसम्म रकम दाखिला गरेर भर्ना नगरेपछि उनको भर्ना छुटेको थियो। त्यसपछि स्ववियु निर्वाचन नजिकिएपछि कर्मचारीहरूले नै फर्जी कागजात तयार गरेका हुन्।

क्याम्पस प्रमुख देवेन्द्र कुमार प्रसाईंले आफूले पहिले थाहा नभएको र अहिले विद्यार्थी भर्ना नभएको बारे जानकारी पाएको बताएका छन। स्ववियु निर्वाचन संयोजक प्रभात बोगटीले मतदाता नामावली माग गरेको र लेखा शाखाबाट दिएको नामावली अनुसार अन्तिम नामावली प्रकाशन गरेको बताए।

लेखापाल लक्ष्मण चौधरीलाई गौतमले इन्ट्रान्समा नाम निकालेको बताउँदै आफै पैसा हालेर भर्ना गरिदिन भनेका थिए। ‘चुनाव आयो। मेरो नाम चढाइदिन भन्नु भयो। विना रकमको हुँदैन भने। रकम दिनु पर्छ, रकम नभईकन भोलिका दिनमा मैले जवाफ दिनु पर्छ सरले पनि त दाखिला गरिदिनु प¥यो,’ लेखापाल चौधरी गौतमलाई भनेका थिए।

गौतमले आफूले भर्ना रकम पछि दिन्छु भनेर भर्ना गर्न आग्रह गरेको तर, भर्ना समय सकिँदासम्म पनि बैक दाखिला गर्नु पर्ने रकम नदिएपछि किर्ते रकम दिएको रसिद बनाएको देखिन्छ। ‘जुनसुकैको हाल्दिनुहोस् भन्नु भयो। मैले त्यसपछि कसैको नाम नहेरेर अन्दाजी रसिद नम्बर हाल्दिएको हुँ’ उनले बिल ठेली देखाउँदै भने ‘यहाँ विल ठेली छ। यही वर्षको हाल्नु पर्छ पुरानो हाल्न मिल्दैन।’

उनले आफ्नो नियत यस्तो नभको तर, गौतमको दबाबमा फर्जी काम गरेको स्वीकार गरे। आफू यसमा कुनै पनि जबाफदेही नहुने भन्दै उनले गौतमलाई सबै जिम्मेवार आफै हुनुहोला भनेका थिए। सुरुमा रकम नतिरेसम्म भर्ना नहुने बताएका लेखापाल चौधरीले पछि गौतमले रकम नबुझेरै अरूको भर्ना भएको रसिद नम्बर गौतमको हो भन्दै भर्ना रजिस्टरमा नाम चढाएका थिए।

यता सभापति गौतमले आफूले भर्ना गरिदिन भनेको तर, भर्ना भए नभएको जानकारी नलिएको बताएका छन्। उनले आफूले इन्ट्रान्स दिएको र डकुमेन्ट बुझाएको दाबी गरे। ‘यस विषयमा म अनविज्ञ छु। कसको बिल नम्बर हालियो, के हालियो’ उनले भने ‘मैले भर्ना गरिदिनुहोस् अहिले पैसाको सटेज छ। केही दिनमा तपाइहरूलाई उपलब्ध गराइदिन्छु भनेको थिए।’

स्ववियू निर्वाचन सकिएलगत्तै फर्जी विद्यार्थी मतदाता रहेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो। उक्त विवादमा गौतम भने मुछिएका थिएनन्। तर, अहिले उनी पनि फर्जी भएको खुलेको हो।

अदालतमा मुद्‍दा परेपछि सभापति लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ भएको छैन। शपथ नहुँदै सभापति नै फर्जी भएको खुलेको छ। भर्ना नै नभएका व्यक्ति स्ववियू सभापति भएपछि अहिले क्याम्पसमा खैलाबैला मच्चिएको छ। यस विषयमा क्याम्पसले सर्वदलीय छलफल गर्न विद्यार्थी नेताहरूलाई बिहिवार बिहान बैठक बोलाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *