दार्चुलाको अपिहिमाल गाउँपालिका स्थानीय यार्चागुम्बा सङ्कलनमा

पाँजलो न्युज
११ वैशाख २०८२ ६:५१
दार्चुलाको अपिहिमाल गाउँपालिका स्थानीय यार्चागुम्बा सङ्कलनमा

दार्चुलाः दार्चुलाको अपिहिमाल गाउँपालिका स्थानीय यार्चागुम्बा सङ्कलनमा लागेका छन्। त्यहाँका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको छ। सङ्कलन समय सुरु भएसँगै स्थानीय यार्चागुम्बा पाइने पाटनमा पुग्न थालेका छन्।

अपिहिमाल गाउँपालिकाको सिती, घुसा र खण्डेश्वरीलगायत स्थानका स्थानीयले यार्सागुम्बा सङ्कलन अवधिभर आवश्यक पर्ने सातुसामल (दैनिक उपभोग्य वस्तु र ओढ्ने ओछ्याउने कपडा) पाटनमा पुर्‍याइसकेको अपिहिमाल गाउँपालिका पर्यटक एकाइ शाखाका प्रमुख विसन बुढाथोकीले जानकारी दिए। सातुसामलसहित पाटन गएका स्थानीय बाटोको अवस्था, यार्चागुम्बा पाइने पाटनमा रहेको हिउँ घटेको नघटेको बारे जानकारी लिएर फर्किएको उनले बताए।

अबको केही दिनपछि पाटनतिर गएर यहाँका स्थानीय यार्चागुम्बा सङ्कलनको काम सुरु गर्ने तयारीमा छन्। यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने समय अवधि रहे पनि दार्चुलाका स्थानीय सोअगावै पाटन गएर यार्चागुम्बा सङ्कलन सुरु गर्ने गर्दछन्। समय परिमार्जन गर्नुपर्ने स्थानीयले माग गरेका छन्। यार्चागुम्बा सङ्कलन तथा व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सरकारी निकाय अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाखको पहिलो साताबाट सङ्कलकलाई यार्चागुम्बा सङ्कलन अनुमतिपत्र वितरण सुरु गरेको कार्यालयका वार्डेन विनय झाले जानकारी दिए।

कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुन्छ, केही स्थानीय यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेको उनले बताए। यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिनुका साथै पाटन प्रवेश अनुमति दस्तुर पनि तोकिएको छ। स्थानीयका लागि पाँच सय, स्थानीयभन्दा बाहिरका लागि दुई हजार र जिल्लाका बाहिरका लागि तीन हजार दस्तुर तोकिएको उनले बताए।

दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत भनेको यार्चागुम्बा र जडीबुटी हो। जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *