काठमाडौँ – कुनै समय यस्तो थियो– गीत चर्चित भएकै कारण दर्शक फिल्म हेर्न हलसम्म पुग्थे । हलमा कुन फिल्म लाग्दै छ, त्यसैको गीत बजाएर प्रचार गरिन्थ्यो । फिल्म हिट गराउन गीतले राम्रै भूमिका खेल्थ्यो । पचास–साठीको दशकमा दर्शकले यसरी नै फिल्मबारे थाहा पाउँथे । त्यही पचासको दशकमा फिल्मी गीत गाएर दर्शक–श्रोताको मनमनमा बसेका गायकमध्ये हुन्– उमेश पाण्डे ।
पाण्डेले जुन गीत गाउँथे, ती गीत प्रायः दर्शक–श्रोताको रोजाइमा परिहाल्थे । यसरी एकपछि अर्को हिट गीत गाएका पाण्डे अहिले गुमनामप्रायः छन् । तर उनले गाएका गीत अझै जनजिब्रोमै छन् । दर्शक–श्रोताको फर्माइसमा परिरहेकै छन् । उनले गाएको गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो…’ दसैंको बेलामा टेलिभिजन र रेडियोमा बढी बज्छ । बीचमा लामो समय गायन क्षेत्रबाट टाढा रहेका उनी फेरि दर्शक–श्रोताको जनजिब्रोमा झुन्डिने खालका गीत लिएर ‘कमब्याक’ गर्ने योजनामा छन् ।
***
०३४ सालमा प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भर्ना भएका उनका मिल्ने साथीहरू त्यति बेला गायक रवीन शर्मा र नायक भुवन केसी थिए । भुवन राम्रो गीत गाउँथे । गायकका रूपमा चिनिन्थे । तर फिल्म खेल्न थालेपछि उनी नायकका रूपमा चिनिन थाले । ‘रवीन र मैले प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म नै सँगै पढ्यौं, आरआरपछि भुवनसँग संगत भएन, उनी फिल्म खेल्नतिर लागे,’ पाण्डे सम्झन्छन्, ‘क्याम्पस पढ्दै गर्दा रवीन र म गीत गाउँथ्यौं, त्यो बेलासम्म हामी क्याम्पसका गायक मात्र थियौं ।’
पछि पाण्डे स्नातक पढ्न त्रिचन्द्र क्याम्पस पुगे । त्यहाँ संगीतकार शक्तिबल्लभ, गीतकार राजेन्द्र पौडेल र प्रकाश अधिकारी साथी भए । त्यो बेला प्रकाश गीतकारका रूपमा चिनिन्थे । पछि नायक भएर फिल्मको पर्दामा देखिए । क्याम्पसमा गीत गाउँदा दुवैलाई स्वर राम्रो छ भन्दै तारिफ गर्ने साथीहरू धेरै हुन्थे । सबैले रेडियो नेपालमा गएर स्वर परीक्षण गराउन सल्लाह दिन्थे ।
०३९ सालमा रत्न रेकर्डिङ संस्थानले देशभरबाट ‘प्रतिभाको खोजी’ सुरु गर्यो । यो बेलासम्म टेलिभिजन थिएनन् । संस्थानका प्रमुख थिए गणेश रसिक । यो कार्यक्रम रसिकले सुरु गरेका थिए । यसमा विजेता हुनेहरूलाई रत्न रेकर्डिङमा गीत रेकर्ड गर्ने मौका दिइन्थ्यो । रेडियो नेपालकै दिग्गजहरू निर्णायक हुन्थे । तर, त्यति बेला प्रतिभाको खोजीमा कोही पनि प्रथम नभएको पाण्डे सुनाउँछन् । दोस्रो भने रवीन शर्मा र स्वयम्भूराज शाक्य भए । ‘तेस्रोमा म र मथुरा प्रधान (श्रेष्ठ) भयौं । प्रताप अधिकारी, राजु थापा, सुक्मित अधिकारी (गुरुङ) सान्त्वना हुनुभयो,’ पाण्डेले भने, ‘विजयी हुने सबैलाई एक–एक गीत रेकर्ड गर्न दिइयो ।’
***
०४५ सालपछि पाण्डे केही समय हराए । खानेपानीसम्बन्धी एक आयोजनामा काम गर्न थाले । ‘खानेपानीसम्बन्धी आयोजना विदेशीहरूको सहयोगमा बन्थे । तर ती दीर्घकालीन थिएनन्,’ उनी भन्छन्, ‘त्यसैले नेवा अर्थात् नेपाल स्वास्थ्यका लागि पानी नामक संस्था खोल्यौं ।’ पाण्डेकै सक्रियतामा ०४९ साउन १५ मा नेवा स्थापना भयो । यसको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा खानेपानी र सरसफाइ गर्ने थियो । यस संस्थामा पाण्डेले तीन दशक बिताए ।
पचासको दशकको कुरा हो– खानेपानीसम्बन्धी संस्थामा सक्रिय हुँदै गर्दा उनको भेट संगीतकार शम्भुजित बाँस्कोटासँग भयो । त्यही बेला निर्देशक अशोक शर्मा ‘नीरमाया’ फिल्मका लागि गायकको खोजीमा थिए । फिल्मको संगीतकार बाँस्कोटाले उनै पाण्डेलाई गीत गाउन आग्रह गरे । र, पहिलो फिल्मका रूपमा ‘नीरमाया’ मा ‘मेरी माया साह्रै नै राम्री…’ बोलको गीत गाए । जसमा पाण्डेलाई रमना श्रेष्ठ र देविका प्रधानले स्वरमा साथ दिएका छन् । यो गीतले उनलाई चर्चाको शिखरमै पुर्यायो ।
अशोककै अर्को फिल्म ‘अल्लारे’ मा पनि पाण्डेले ‘रातो टीका निधारमा टलक्कै टल्कियो…’ गीत गाउने अवसर पाए । जसमा उनीसँगै रमनाको स्वर छ । ‘सुरुमा त के गीत गाउन दिएको होला, रातो टीका निधारमा टलक्कै टल्कियो, बिजुलीको तार तार रे, फुर्सद भए भेटौं शनिबार रे भन्ने लागेको थियो,’ पाण्डे भन्छन्, ‘तर यो गीत पनि मैले सोचेभन्दा धेरै नै चर्चित भइदियो ।’ र, सांस्कृतिक कार्यक्रम, मेला महोत्सव, तीज–तिहार जताततै–जहिलेतहिले प्रायः यही गीत घन्कन थाल्यो । पाण्डेलाई यही गीतले गायकका रूपमा फिल्मी क्षेत्रमा स्थापित गरायो ।
फिल्मलाई पनि चर्चामा ल्याउन यही गीतले सघायो । त्यति बेला नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई दर्शकसामु अझ बढी चिनाउने काम पनि यही गीतले गरायो । ‘यो गीतले मेरो गायन करिअरलाई ह्वात्तै माथि पुर्याइदियो,’ पाण्डेले भने । हुन त सुरु–सुरुमा कस्तो गीत गाएको भनेर आफ्नै परिवारले पनि उनलाई जिस्क्याउँथ्यो । ‘बुबाले पनि यो गीत सुरुमा के बिजुलीको तार भनेर गाएको भन्नुहुन्थ्यो,’ पाण्डे भन्छन्, ‘गीत चर्चित भएपछि बुबा पनि खुसी हुनुभयो । आफन्तले पनि ओ बिजुलीको तार, फुर्सद भए भेटौं शनिबार भन्दै घरमा बोलाउँथे ।’
पछि यही गीतको बोलमा अशोक शर्माले ‘रातो टीका निधारमा’ फिल्म बनाए । यो फिल्ममा पनि यही गीत रिमेक गरेर राखिएको छ । त्यसमा स्वर गायक प्रमोद खरेल र मेलिना राईको छ । ‘आफ्नो स्वर रहेका गीत रिमेक गर्दा भने दुःख लाग्दो रैछ, फेरि रिमेक गरेर गीत ल्याएपछि नयाँ पुस्ताले पुराना गायक–गायिकालाई कसरी चिन्छन् त ?’ उनी भन्छन्, ‘सुरुमा यो फिल्ममा मलाई पनि गाउन भनिएको थियो, गाउन पनि गएँ, पछि पहिलाको जस्तो स्वर भएन भनेर टारियो ।’
गायक–गायिकालाई गीतले जीवन्त राख्ने भएकाले उनीहरूको अस्तित्व मेटाउने काम गर्नु नहुने उनको सुझाव छ । ‘रिमेक गराउने भए सम्बन्धित गायकबाटै गराउँदा राम्रो हो । बरु संगीत नयाँ थप्न सकिन्छ,’ उनी भन्छन्, ‘मरेर गए पनि उसलाई जीवन्त राख्ने भनेको उसको सिर्जनाकर्मले मात्र हो ।’
‘रातो टीका निधारमा…’ गीत हिट भएसँगै उमेश र रमनाले एकपछि अर्को गीत पाइरहे । यही बीचमा संगीतकार टीका भण्डारीले ‘गाउँले’ फिल्मका लागि ‘गोली सिसाको…’ बोलको गीतमा यही जोडीलाई दोहोर्याए । यो गीत पनि दर्शकले राम्रै रुचाए । त्यसपछि उनले अशोककै ‘मिस्टर रामकृष्णे’ फिल्ममा ‘म भमरा…’ गीत गाए, जसमा उमेश र देविका प्रधानको स्वर छ । यो गीत पनि दर्शक–श्रोताले मन पराए ।
‘आवारा’ फिल्मको ‘एउटा आएको पूर्वबाट घरचाहिँ पोखरा…’, ‘नौडाँडा पारि’ फिल्मको ‘सुनको माया हुँदैन…’, ‘धर्मपुत्र’ को ‘जाने हतार…’, ‘खानदान’ को ‘चौध अञ्चल…’, ‘मितिनी’ को ‘घरमा छे चिटिक्क परेकी…’, ‘जिन्दगानी’ को ‘परदेशी परदेशी…’, ‘संन्यास’ को ‘सैनिकलाई टुँडिखेल…’ लगायत गीत गाए । त्यति बेला यी सबै गीत जनजिब्रोमा झुन्डिइरह्यो । अहिले पनि यी गीतमा नाच्नेको जमात बाक्लो छ । पाण्डेले यसरी एकपछि अर्को गरेर लगातार २५ भन्दा बढी फिल्ममा गीत गाए । प्रायः सबै गीत चले ।
***
साठीको दशकपछि पाण्डे फेरि हराए । नयाँ र राम्रा कलाकार आउने क्रम बढ्दै गयो । संगीत बजार आक्रामक रूपमा विस्तार हुँदै गयो । दर्शक–श्रोताको छनोट फेरिन थाल्यो । पुराना गायक–गायिकाको आवश्यकता कम हुँदै गयो । ‘पहिला राजेश हमाल र करिश्मालाई राखेपछि फिल्मको लगानी उठ्छ भनेर लगानीकर्ता ढुक्क हुन्थे,’ पाण्डे भन्छन्, ‘अहिले त्यस्तो छैन, जेनेरेसन ग्याप भइसक्यो । अहिले त जेमा पनि नयाँपन खोजिन्छ ।’
नेपाली फिल्ममा त्यतिका चर्चित गीत गाएर कुनै बेला ख्याति कमाएका पाण्डेलाई अहिलेको पुस्ताले भने विरलै चिन्छ । ‘गीत चलिरहँदा न सबैले चिन्ने हो,’ उनी भन्छन्, ‘अहिले ग्याप धेरै भइसकेको छ । मैले गाएका गीत सुने पनि नयाँ पुस्ताले त्यति चिन्दैनन् ।’ रेडियोमा गीत रेकर्ड गर्दा उनले पारिश्रमिक पनि पाउँथे । फिल्ममा गाउँदा भने कुनैमा पाए र कुनैमा बिनापारिश्रमिक नै काम गर्नुपरेको उनी सुनाउँछन् ।
‘मैले यति–उति दिनू भन्दिनथें, कसैले दिँदैनथे,’ पाण्डे भन्छन्, ‘केहीले भने सम्मानपूर्वक खाममा राखेरै पारिश्रमिक दिन्थे ।’ अहिले आफू गुमनामजस्तै भए पनि कसैले खोजी गरे सधैं उपलब्ध रहने उनको भनाइ छ । ‘गायनबाट अवकाश लिइसकेको होइन, सही गीत र संगीतकारसँग तादात्म्य मिले बिस्तारै गायनमा फर्किन्छु ।’ गीत गाएर संख्या बढाउने काम मात्र गर्न आफूलाई रहर नभएको उनी सुनाउँछन् ।
केही दिनअघि काठमाडौंको ज्ञानेश्वरस्थित घरमा भेटिएका पाण्डेले कुराकानी टुंग्याउँदै भने, ‘कमसे कम दर्शक–श्रोताले रुचाउने र सम्झिइरहने गीत गाउन मन छ । फेरि पनि दर्शक–श्रोताको जिब्रोमा झुन्डिने र सम्झिइरहने खालका गीत गाउने चाहना छ ।’
प्रतिक्रिया