
बैतडीःबैतडीमा पहिरोले एक घर भत्काएको छ। जिल्लाको सुर्नया–६ धुलिधारका जनकराज अवस्थीको घर पहिरोले भत्काएको हो।
पहिरोका कारण विभिन्न स्थानका ८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। घर भत्किँदा उनको गोठमा बाँधेका एक हल गोरुलाई समान्य चोट लागेको छ। धुलिधारकै अम्बादत्त पन्त, चन्द्रदेव पन्त र पदमराज अवस्थीको घर पहिरोको जोखिममा छन्।
पहिरोले अम्बादत्त पन्त र चन्द्रदेव पन्तको तरकारी बारीमा लगाएको बन्दा समेत नष्ट भएको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको जोखिममा परेका छन्।
शुक्रबार दिउँसो घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेको प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
अहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसिरहेका छन्।
प्रतिक्रिया