पशुपति कोटिहोममा धार्मिक क्रान्ति

व्यासासनमा कृष्ण दमाईंको बसाइ झट्ट हेर्दा सामान्य लागे पनि सामाजिक परिवर्तनका हिसाबले यो एक असामान्य र असाधारण घटना हो 

पाँजलो समाचार
२७ भदौ २०८१ ३:१८
पशुपति कोटिहोममा धार्मिक क्रान्ति

 

गत साउन महिनाभर पशुपतिपरिसरमा सम्पन्न कोटिहोम महायज्ञ निकै चर्चित र कहिलेकाहीँ विवादास्पद पनि बन्यो । तर, लाखौँ भक्तजनको आस्थाको केन्द्र बनेको त्यो भव्य अनुष्ठानले ‘शूद्र’ कहलिएका तर संस्कृत साहित्यका विज्ञ कृष्ण दमाईंलाई व्यासासनमा आरुढ गराएर धार्मिक सांस्कृतिक क्रान्तिको शंखनाद गर्दै दलितमुक्तिका खातिर नयाँ दिशानिर्देश गरेको छ । यस अर्थमा उक्त महायज्ञ ऐतिहासिक बन्यो ।

वैदिक कालदेखि तीन हजार ५०० वर्षको हिन्दु इतिहासमा कुनै शूद्रलाई यो स्तरको सम्मान र स्थान दिइएको यो नै पहिलो घटना हो । एकपटक २०५० मा चितवनको कोटिहोममा दलितलाई प्रवेश मात्रै गराउन खोज्दा पनि सर्वत्र विरोध भयो र योगी नरहरिनाथले भाग्नुपर्‍यो । पशुपतिमा आफ्नो छोटो प्रवचनमा कृष्णले के बोले, कति बोले, कसरी बोले भन्ने गौण हो । आज पनि अधिकांश मन्दिरमा दलितलाई निषेध गरिने देशमा शास्त्रमा पारंगत बाहुन मात्रै बस्न पाउने पवित्र व्यासासनमा शूद्रलाई राख्नु आफैँमा ऐतिहासिक छलाङ होइन भनेर कसले भन्न सक्छ ?

जातीय समानताका खातिर उक्त साहसिक कदम चालेर इतिहास रच्ने कोटिहोम आयोजक पण्डित गुरुहरूप्रति दलित समुदाय सदैव कृतज्ञ रहनेछ । म आफैँले पनि कोटिहोमको मञ्चमा उभिएर सो क्रान्तिकारी कदमको स्वागत गर्दै यसैमा टेकेर धार्मिक सुधारको राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बोलेको छु । सामाजिक सञ्जालमा यही विचार फैलाइरहेको छु ।

सवाल उठ्छ, यस कोटिहोम क्रान्तिले धार्मिक/सांस्कृतिक विश्वास, परम्परा र सामाजिक मनोविज्ञानमा कस्तो प्रभाव पारेको छ र पार्न सक्छ ? कसरी यसले व्यवहारमै छुवाछुतमुक्त राष्ट्र निर्माण गर्ने दिशातर्फ समाजलाई घचघच्याएको छ ? अर्को सवाल, किन धेरै दलित नेता, बुद्धिजीवी, अभियन्ताले यस महान् क्रान्तिलाई नजरअन्दाज गरिरहेका होलान् ?

पशुपति रिसाएनन् त : नेपाली समाजको चरित्र अत्यन्तै विरोधाभासपूर्ण यस मानेमा छ कि यहाँ कम्युनिस्ट सिद्धान्त र दलको बाहुल्य भएर पनि धार्मिक वा आध्यात्मिक पाटो झनै बलियो छ । हाम्रो सामाजिक व्यवहार र मनोविज्ञान पूरै देवीदेउता, पितृ तथा स्वर्ग र नर्कको डरमा आधारित छन् ।

नेपाली देशको आधुनिक कानुनभन्दा परम्परागत धार्मिक तथा सांस्कृतिक कानुनसँग बढी डराउँछन् । राजनीतिक नेताले भनेको प्रायः पत्याउँदैनन्, तर पण्डित पुरोहित, जैसी–बाहुन, धामीझाँक्रीको आज्ञा काट्न सक्दैनन् । चुनाव जित्न नेताले ज्योतिष हेराउँछन्, मठमन्दिरमा भाकल बुझाउँछन्, नवनियुक्त मन्त्रीहरू बोका काटेर भोग दिई मन्त्रालय प्रवेश गर्छन् । छोराछोरीको युरोप–अमेरिकाको भिसा लगाउन अभिभावकले देवीथानमा बोका चढाउँछन् ।

यसरी यहाँका नेतादेखि सर्वसाधारणसम्म सबै देवीदेवताको आस र त्रासमा बाचिरहेका छन् । कतिसम्म भने कृष्ण दमाईंलाई व्यासासनमा प्रवेश गराएको र मजस्ता दलितलाई मञ्चबाट भाषण गर्न दिएको समयवरपर देशमा ठुलै भूकम्प गएको भए वा बाढीपहिरोको प्रकोप बढेको भए वा कहीँकतै ठुलो यातायात दुर्घटना भएको भए अछुतको सम्पर्कले पशुपति रिसाएर अनिष्ट गरे भन्ने आमबुझाइ हुन्थ्यो । दलितलाई समेटेकामा कोटिहोम आयोजकको चर्को आलोचना हुन सक्थ्यो ।

यसको पछिल्लो उदाहरण गतवर्षको कात्तिकमा जाजरकोटको रामिडाँडामा केन्द्रबिन्दु भएको ६.४ रेक्टरको भुइँचालो हो । १५० भन्दा बढीको मृत्यु र सयौँ घाइते हुँदा कतिपय स्थानीयले के अर्थ लगाए भने एकजना दलित समुदायका अधिकृतले जाजरकोटको सिडिओ बनेर बजारमाथिको कोट छोइदिनाले त्यहाँकी देवीले आक्रोशित भएर बदला लिएकी हुन् !

यस्तो मनोविज्ञान भएको समाजमा झन् समग्र राष्ट्रकै रक्षक ठानिएका पशुपति नै बिटुलो भएको खबरले जनता र कतिपय नेता, धर्मगुरु पनि आक्रोशित र भयभीत थिए होलान् ! तर, पशुपति कोटिहोमको व्यासासनमा पहिलोपटक दलितले पाइला राख्दा पनि काठमाडौं र पूरै देशमा जनधनको विनाश वा क्षति भएन । कतै ठुलो अनिष्ट भएको खबर आएन ।

यसबाट पक्कै पनि धेरैले बुझे कि शूद्रको स्पर्श राष्ट्रिय देवतालाई अस्वीकार्य रहेनछ ! विसं २०११ असारमा आन्दोलनरत नेवार दलित अगुवाले पहिलोपटक पसेर सामूहिक पूजा गर्दा पनि पशुपति क्रोधित भएनन् । आज महायज्ञको पुजारीको स्थान र भूमिकामा दलितलाई राख्दा पनि पशुपतिले दु:ख दिएनन् भन्ने आमबुझाइ भयो । यसबाट देवीदेउता आफैँले जातीय विभेद गर्ने नभई मान्छेले नै देवीदेउताको डर फैलाएर दलितलाई धार्मिक अधिकारबाट वञ्चित गर्ने र आत्मसम्मान गिराउने काम गर्दै आएका रहेछन् भन्ने सन्देश समाजमा फैलिएको छ । जातीय विभेद दैविक नभएर मानवीय खेल मात्रै रहेछ भन्ने चेत खुलेको छ । यसरी धार्मिक सुधार गर्दै जातीय समानता हासिल गर्ने दिशामा यो महान् अवसर बनेको छ ।

झट्ट हेर्दा व्यासासनमा कृष्ण दमाईंको बसाइ सामान्य लागे पनि सामाजिक परिवर्तनका हिसाबले यो एक असामान्य र असाधारण घटना हो । यसबाट दलितको आत्मसम्मान बढेको छ, आत्मबल उठेको छ । यसले दलितले आ–आफ्नो ठाउँबाट वास्तविक जातीय मुक्तिका लागि संघर्ष गर्ने वातावरण बन्दै गएको संकेत गरेको छ ।

धार्मिक मान्यता र परम्पराले नै जातीय विभेदलाई चीरस्थायी बनाएका छन् । दसैँको नवरात्रभर दमाईंले नवदुर्गा मन्दिर, शक्तिपीठ र कोटहरूमा दमाहा ठोक्नुपर्छ, नर्सिंगा र कर्नाल फुक्नुपर्छ । उनीहरूको बाजाको धुनविना पूजा हुँदैन । परन्तु तिनैमध्ये अधिकांश मठमन्दिरमा दमाईंलाई पस्न दिइन्न, पातमा टीका दिइन्छ र बलि चढाइएका पशुको पुच्छर दिइन्छ ।

तर, अब उपेक्षित दलितले यसरी अपमानित हुँदा आफ्नो अधिकारका लागि बोल्ने आधार प्राप्त भएको छ । उनीहरूले अब पण्डित, पुजारीसँग तर्क गर्न सक्छन्, देशकै ठुलो देवताको आँगनमा एक दमाईंलाई व्यासासन प्राप्त हुन्छ भने हामीले किन मन्दिरभित्रै पसेर पूजा गर्नु हुँदैन ? पशुपतिले हामीलाई छुट्याउँदैनन् भने अन्य देवीदेउताले चाहिँ किन विभेद गर्छन् ? यसका साथै कोटिहोम क्रान्तिले कतिपय उदारवादी पण्डित, पुजारी, पुरोहितको पनि मनोबल बढेको देखिन्छ । जातीय विभेद गरेर धर्मका नाममा अधर्म र पाप गर्नु हुँदैन भन्ने सोच राख्ने धर्मगुरुहरू पनि छन् । तर, तिनले परिवार र जजमानको दबाबका कारण कामी, दमाईं, सार्की, डोम, चमार, मुसहर आदिको घरमा पूजा लगाउन, तिनको संस्कार गर्न सकिरहेका छैनन् । तर, अब पशुपति कोटिहोमका आयोजक पण्डितहरूले मार्गप्रशस्त गरिदिएका छन् ।

समग्रमा, कोटिहोम क्रान्तिले समाजमा ठुलै मनोवैज्ञानिक र धार्मिक उथलपुथल गरेको छ । धर्मसंस्कार र संस्कृतिकै आडमा आजसम्म पनि जातीय घृणा, अपमान र हिंसा व्यापक रहेको हो । धार्मिक नीति–नियमले चलेको हाम्रो समाजमा धार्मिक–सांस्कृतिक सुधार नगरी जातीय विभेद अन्त्य हुनै सक्दैन । यस दिशामा काम नगरेकै कारण जति व्यवस्था बदले पनि, जस्तो संविधान र कानुन बनाए पनि जातीय विभेद हट्न नसकेको हो ।

दलितले किन बुझेनन् ? : कोटिहोममा कृष्ण दमाईंको व्यासासनले जातिवादी धार्मिक विश्वास र परम्परामा ठुलै धक्का दिएको सत्य धेरैले बुझे पनि दलित अगुवा, नेता, र बुद्धिजीवी भने मौन छन् । किन उनीहरूले कोटिहोम क्रान्तिको महत्व बुझेनन् वा बुझेर पनि बुझ पचाइरहेका छन् ? मेरो विचारमा यसका पछाडि निम्न कारण छन् : १) उच्च जातद्वारा नियन्त्रित र निर्देशित दलित आन्दोलन, २) कम्युनिस्ट विचारको धङधङी र ३) दलित समुदायभित्रको आन्तरिक विभेद ।

दलित आन्दोलन कहिल्यै स्वतन्त्र रहेन । यो सधैँ उच्च जातीय नेताको छायामा पर्‍यो । अभियन्ताहरू दलीय नेताको नीति र निर्देशनमा हिँड्ने हुनाले स्वतन्त्र दलित वैचारिकी, दार्शनिकी र रणनीति विकास हुनै सकेन । गाउँमा जस्तै राजनीतिमा पनि विष्टले लामो समय कजाउँदै आएका हुनाले दलितले कोटिहोम क्रान्तिको सामान्यीकरण वा विरोध गरेका हुन् ।

हिजो राज्यसत्ताविरुद्ध संघर्ष गर्दा दलका नेताले दलितलाई धर्मको दोष छ भनेर सिकाए र धार्मिक सुधारका लागि सक्रिय पनि बनाए । ०५० को दशकमा दलित अगुवाले देशभर मन्दिर प्रवेश अभियान नै सञ्चालन गरे । माओवादी सशस्त्र द्वन्द्वमा बाहुनको जनै चुँडाल्ने, मन्दिर फोर्ने, गाई काट्नेजस्ता हर्कत पनि भए ।

जब राजनीतिक संघर्ष सफल भयो, राजतन्त्र अन्त्य गरियो र दलहरू आफैँ राज्यपक्ष बने, नेताले दलितलाई गलत मनसायले धर्मविरुद्ध संघर्ष गर्ने जमाना गयो भनेर सिकाए । छुवाछुत र विभेद कायमै राख्ने नेतृत्वको षड्यन्त्रलाई आज्ञाकारी दलितले बुझेनन् । फलस्वरूप आजको दलित आन्दोलन र दलित डिस्कोर्सले धर्मलाई तपसिलमा राखेको छ । आमदलितले मनुवादी नीतिअन्तर्गत नै अपमान र घृणा सहनुपरेको छ । मानसिक र शारीरिक हिंसा खप्नुपरेको छ । तैपनि दलित नेता–अभियन्ता धर्मसंस्कृतिको विषयमा बोल्दैनन् । सायद त्यो कोटिहोम क्रान्ति कुनै पार्टी नेतृत्वको आह्वान र अग्रसरतामा सम्पन्न भएको भए दलितले त्यसको बेग्लै महत्व देख्थे । यसबारे राष्ट्रव्यापी चर्चा–परिचर्चा पनि हुन्थ्यो ।

कोटिहोम क्रान्तिको बुझाइमा कम्युनिस्ट दलित अझ बढी दिग्भ्रमित छन् । उनीहरू अझै पनि दलितको मूल मुद्दा जातीय नभई वर्गीय हो भन्ने भ्रममा छन् । कतिले कहिल्यै पूरा नहुने धर्मविहीन र वर्गविहीन समाजको सपना देख्न छाडेका छैनन् । एकथरी साम्यवादी दलित जात व्यवस्था निर्मूल पार्ने गफ दिन्छन्, तर त्यसको मूल जराका रूपमा रहेको धर्मको कुरै गर्न हुँदैन भन्छन् । जरा नै नखोतली यति धेरै झांगिएको जात वृक्ष कसरी उखेलिएला ?

साथै, कोटिहोम क्रान्तिको अवमूल्यनमा दलितभित्रको विभेदले पनि परोक्ष वा प्रत्यक्ष रूपमा भूमिका खेलेको छ । दलित समुदायको आन्तरिक विभेद अझै चर्को छ । राष्ट्रिय राजनीतिमा बाहुनको जस्तै दलित राजनीतिमा विश्वकर्मा जातिको एक प्रकारको हैकम चल्छ । न्यारेटिभ र विचारहरू पनि उनीहरूकै नियन्त्रणमा छन् । अन्य जातिको नेतृत्व सहजै स्वीकार्य हुँदैन । कोटिहोममा छलाङ मार्ने व्यक्ति दमाईं नभएर कामी भएको भए सायद घटनाको बेग्लै मूल्यांकन हुन्थ्यो कि ?

अन्त्यमा, कोटिहोम क्रान्ति खास छ, विशेष छ, ऐतिहासिक छ । यो इतिहास कसैले मेटेर मेटिँदैन । यो पहिलाका घटनाजस्तो बल प्रयोगद्वारा नभई महायज्ञ आयोजकसँग संयोजन र सहकार्य गरेर सम्पन्न गरिएको हो । कसैलाई जोरजबर्जस्ती नगरेका कारण यसमा प्रतिशोधको भावना छैन । कथित ‘उपल्ला जात’का मानिस पनि खुसी छन् र धर्मसुधारका यस्ता अभियानलाई सघाउन आतुर छन् । हाम्रै जीवनकालमा छुवाछुत पूरै निर्मूल पार्न नसके पनि धेरै घटाउने निर्विकल्प उपाय यही हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *