कति वर्ष भयो पसल चलाएको?
यो पसल चलाएको तीन वर्ष भयो। यसअघि बुटवलकै दुई ठाउँमा गरेर १८ वर्ष चियानास्ताको होटल चलायौं।
धेरै वर्ष होटल गर्नुभएछ, अहिले किन किराना पसल रोज्नुभयो?
श्रमशक्तिको अभाव भन्नुपर्ला। होटल सुरू गर्दा छोराछोरी थिए। दिउँसो स्कुल गए पनि साँझबिहान र बिदाको दिनमा काम सघाउँथे। अहिले उनीहरू लाखापाखा लागे। हामी (श्रीमान–श्रीमती) पनि कमजोर हुँदै गयौं। होटलभन्दा अलिक सजिलो होला भनेर किराना पसल सुरू गरेका हौं।
होटलभन्दा सजिलो हो किराना पसल?
किराना पसल नै सजिलो नि! एक्लै गर्न पनि सकिन्छ। होटललाई धेरै मान्छे चाहिन्छ, उभिएर काम गर्नुपर्छ। अरूले खाएका भाँडा माझ्नु भनेको दुःखको काम हो।
आम्दानी होटलमा धेरै रहेछ कि किराना पसलमा?
होटलमा दुःख गरेअनुसार नाफा पनि हुन्छ। आफू पनि खटेर काम गर्दा ४० प्रतिशतसम्म नाफा लिन सकिन्छ। किराना पसलमा त बढीमा १५ प्रतिशतसम्म हो।
अहिले दिनमा कति रूपैयाँको व्यापार गर्नुहुन्छ?
व्यापार त्यति राम्रो छैन। दिनमा सात–आठ हजार जतिको हुन्छ।
तपाईंलाई व्यापार बाहेक अरू के गर्न मन लाग्छ?
अब उमेर पनि बढ्दै गएर होला, तीर्थब्रत गर्न र मठमन्दिर जान मन लाग्छ।
खानेकुरा के मन पर्छ?
नेपाली खाना दालभात, तरकारी, रोटी मनपर्छ। त्यति धेरै वर्ष होटल चलाउँदा पनि आज यस्तो नयाँ चिज बनाएर खाऊँ भन्ने भएन। पेट भर्न खाने हो भन्ने भयो। जे पाकेको हुन्छ त्यही खायौं।
घरमा कोको हुनुहुन्छ?
अहिले त म र श्रीमती मात्रै छौं भने पनि हुन्छ। दुई छोरी हुन्, उनीहरूको बिहे भयो। सबैभन्दा कान्छो छोरो हो, ऊ काठमाडौंमा पढ्दै छ।
छोराछोरीसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्टि त मान्नुपर्ने रहेछ। ठूली छोरी इन्दिरा डाक्टर छिन्। हामी बुढाबुढीले चिया बेचेर उनलाई एमबिबिएस पढायौं। अहिले नेपालगञ्जमा एमडी गर्दै छिन्।
कान्छी छोरी मञ्जु जापानमा छिन्। छोरो ब्याचलर (स्नातक तह) पढ्दै छ।
पहिले धेरै दुःख गर्यौं। छोराछोरीले पनि दुःख गरेरै पढेका हुन्। एमबिबिएस पढ्ने छोरी पनि छुट्टीमा घर आउँदा होटलमा चिया पकाएर अफिसहरूमा लगिदिन्थिन्।
पहिले दुःख गरेको भएर होला, अहिले राम्रो छ। हामी पनि धेरै खुसी छौं। योगिकुटीमा एउटा घर बनाएका छौं। छोरीहरू अब धेरै दुःख नगर्नू, हामी हेर्छौं भन्छन्। हामीलाई चाहिँ आफैले कमाएको राम्रो लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिले स्वास्थ्य अलिक बिग्रेको छ। पायल्स र ग्यास्ट्रिकको समस्या छ। पायल्स भएको सात वर्षजति भयो। खानपिनमा ध्यान दिँदा धेरै समस्या देखिँदैन। खानपिनमा गडबढी भयो भने पायल्सको समस्या पनि बढ्छ।
यही बीचमा पिसाबमा पनि खराबी देखियो, अहिले औषधि खाँदै छु। छोरीले कर गरेर चेकजाँच गराइन्।
निद्रा कत्तिको लाग्छ?
दिनभरिको थकान हुन्छ, निद्रा त राम्रै लाग्छ।
तपाईंलाई ठिक्कको पैसा हुँदा के चिज किन्न पाए हुन्थ्यो जस्तो लागेको छ?
तत्कालको लागि त केही छैन। सबै पुगेको छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
छोरीहरूले राम्रो पढे, त्यसमा खुसी लागेको छ। ठूली छोरी जसरी भए पनि एमबिबिएस पढ्न चाहन्थिन्।
चिया पसल चलाएर छोरीको सपना कसरी पूरा गर्ने होला भन्ने लाग्थ्यो। छोरीले छात्रवृत्तिमा नाम निकालिन्। त्यो बेला धेरै खुसी लाग्यो। सधैं एकनासले जिन्दगी चलेको छ।
धेरै चित्त दुखेको केही छ कि?
स्कुल पढुन्जेल छोराको पढाइ त्यति राम्रो भएन। त्यसमा अलिक पिर परेको थियो। अहिले राम्रो छ।
यस्तो नभएको भए हुन्थ्यो भनेर तपाईंको मनमा गढेको केही पिर पनि छ कि?
म त्यस्तो ठूलो पिर लिएर कहिल्यै बस्दिनँ। तै पनि मनमा केही हुने रहेछ। मैले २०४६ सालमा शिक्षकको जागिर पाएको थिएँ, त्यो नगरेर भारततिर गएँ। त्यो बेला शिक्षक भएको भए अहिले सेवा निवृत्त भएको हुन्थें। पेन्सन आउँथ्यो।
अहिले पसल चलाउन परेको छ। बसेर खान पुग्ने सञ्चित पैसा छैन। छोरालाई ब्याचलर पास गराउने र उसको बिहे गरिदिने जिम्मेवारी पूरा गर्न पाए हुन्थ्यो।
अरू ठूलो चाहना केही पनि छैन।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
हाम्रो टोल समाज राम्रो छ। मिलेर बसेका छौं।
टोलसमाजको सबैभन्दा राम्रो पक्ष के हो?
एकअर्कामा मेलमिलाप छ। मलाई राम्रो लाग्ने पनि यही हो।
टोलसमाजमा सुधार गर्नुपर्ने के देख्नुहुन्छ?
एकअर्काप्रति दयामाया र सहयोगी भावना कम हुँदै गएको छ। सबै कुरा पैसासँग जोडेर हेर्न चलन आयो। सांस्कृतिक रूपमा पनि अलि विचलन आएको हो कि भन्ने लाग्छ। हाम्रा परम्परा, चाडपर्व, मौलिक संस्कृति हराउन थाले। ती जोगाउनुपर्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति त २०५२ सालमै घिन लागेर छोडिदिएको हो। म उति बेलै नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता थिएँ। २०४६ सालको जनआन्दोलनमा कांग्रेसको झण्डा बोकेर आन्दोलनमा सहभागी भएको हुँ तर ५२ सालमा आइपुग्दा राजनीति नै फोहोरी लागेर छोडिदिएँ।
राजनीतिमा घिन लाग्ने के देख्नुभयो र छोड्नुभयो?
कांग्रेसका नेता आपसमा लडे, हुँदाखाँदाको सरकार ढालेर एमालेलाई सुनको लिस्नो बनाइदिए। गिरिजाप्रसाद कोइरालाले सरकार ढालेर मध्यावधि निर्वाचन गराएपछि एमाले सरकारमा आयो। पार्टी फुटाएर छत्तीसे र चौहत्तरे भए। अहिले पनि नेताहरूमा त्यस्तै चरित्र छ।
तपाईंलाई मनपर्ने नेता को हुन्?
पहिले कृष्णप्रसाद भट्टराई मन परेर नेपाली कांग्रेसमा लागेको थिएँ। अहिले त मनपर्ने कोही नेता पनि देखेको छैन। नयाँ–पुराना कुनै पनि पार्टीका नेता मनपर्ने खालका छैनन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले पूर्वी नवलपरासीको चोरमाराबाट मतदाता परिचयपत्र बनाएको छु। त्यति टाढा गएर भोट दिनुपर्छ। स्थानीय तहको चुनावमा पार्टी नहेरी, व्यक्ति हेरेर भोट दिएँ। संघ र प्रदेशको चुनावमा भोट दिन गइनँ।
अहिलेको अवस्थामा चुनाव भए कसलाई भोट दिनुहुन्छ?
अब त जो राष्ट्रवादी बन्छ उसैलाई दिने हो। यो पार्टी र ऊ पार्टीभन्दा पनि राष्ट्र मुख्य हो।
यो चाहिँ राष्ट्रवादी हो भनेर कसरी चिन्नुहुन्छ?
उसले अघि–पछि गरेको काम हेरेर मूल्यांकन गर्ने हो। को कस्तो हो भन्ने थाहा भइहाल्छ नि!
तपाईंलाई यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त सुव्यवस्था कायम गर्ने र जनतालाई गरिखाने वातावरण बनाइदिने हो। काम गर्ने वातावरण राम्रो भयो भने अहिले विदेशमा भएका आधा मान्छे फर्किएर आउँछन्। परिवार छोडेर अर्काको देशमा दुःख गर्न कसलाई मन लागेको होला र!
सरकारले वातावरण बनाइदेओस्, मान्छेले आफै गरिखान्छन्, जनता आफैले देश बनाउँछन्।
प्रतिक्रिया