के.आई.सिंह गाउँपालिकाले बनायो पाँच वर्षे रोजगार रणनीतिक योजना

पाँजलो न्युज
८ साउन २०८१ २:३७
के.आई.सिंह गाउँपालिकाले बनायो पाँच वर्षे रोजगार रणनीतिक योजना

दिनेश जोशी(दिपायल)- डोटीको के.आई.सिंह गाउँपालिकाले पञ्चवर्षिय रोजगार रणनीति तयार गरेको छ । आर्थिक वर्ष २०८१-०८२ देखी २०८५-०८६ सम्म पाँच वर्षमा रोजगारीका क्षेत्रमा गरिने कार्यहरुलाई आधार बनाएर रोजगार रणनीति बनाइएको हो ।
के.आई.सिंह गाउँपालिकाका सम्पूर्ण शाखाहरुको समन्वय र सहकार्यमा तयार पारिएको रणनीतिक योजना चालु आर्थिक वर्ष २०८१/०८२ देखी कार्यान्वयनमा लगिने रोजगार संयोजक विरेन्द्र सिंह साउदले जानकारी दिनुभयो ।
आन्तरिक रुपमा रोजगारी प्रबर्द्धन गर्न, रोजगारीका क्षेत्र पहिचान गर्न तथा एकीकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपूर्ण सहयोग गर्ने कुरा उनले उल्लेख गर्नुभयो । के.आई.सिंहले “कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगार, के.आई.सिंह विकास निर्माणको आधार “भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम बिभेदको अन्त्य गर्दै सिपयुक्त व्यवसायिक जनशक्तिको विकास मार्फत रोजगारी र स्वरोजगारी प्रबर्द्धन गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप रोजगार रणनीति बनाइएको बताए । अध्यक्ष शाहीले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिका भित्रका रोजगारदातासंग समन्वय गरी रोजगारदाताबाट माग भए बमोजिम सुचिकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायी बन्ने कुरा उल्लेख गरे ।
गाउँपालिका उपाध्यक्ष मिना बिष्टले के.आई.सिंह गाउँपालिकामा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
के.आई.सिंह गाउँपालिकाले रोजगारीको हकलाई कार्यान्वयन गर्दै आन्तरिक रोजगारीको प्रबर्द्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यान्यन गर्न लागिएको जनाएको छ । वायलमा रहेको रोजगार सेवा केन्द्रले सुचिकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गरी नक्साङ्कन गर्ने र रोजगारदाता र रोजगारीमा संलग्न हुन चाहने व्यक्तिहरुलाई एक ठाउँमा ल्याउन सहजीकरण गरिदिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *