(डोटी)– सामुदायिक बनमा फैलिएको डढेलो निभाउने क्रममा ज्यान गुमाएकी शिखर ३ की .चन्द्रादेवी भण्डारीको परिवारलाई राहत स्वरुप नगद हस्तान्तरण गरिएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर मृतक भण्डारीका श्रीमान लाल बहादुरलाई ५५ हजार एक सय १५ रुपैया जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह र दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
डिभिजन बन कार्यालय डोटीको नेतृत्वमा सो रकम संकलन गरिएको बन अधिकृत लक्ष्मी भट्टले बताए ।
शिखर नगरपालिका वडा नं. ४ को भूण तथा पातलसैन सामुदायिक बन उपभोक्ता समितिकी सहसचिव समेत रहेकी भण्डारीको २०८० चैत १६ गते मृत्यू भएको थियो । बनमा डढेलो फैलिएपछि निभाउने क्रममा घाइते भएर उपचारका क्रममा अस्पतालमा प्राण त्यागेकी थिइन् ।
बृक्षारोपण गरेर वातावरण दिवस मनाइयो
विश्व वातावरण दिवसको अवसर पारेर डोटीमा पाँच सय विरुवा रोपिएको छ ।
डिभिजन बन कार्यालय डोटीको आयोजनामा सेती प्राविधीक शिक्षालय तथा सशस्त्र प्रहरी ३६ नं. गणको परिसरभित्र बृक्षारोपण गरिएको हो । सो बृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिंह खड्का, निमिक्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
मानवीय गतिविधीका कारण जलवायू परिवर्तनमा देखापरिरहेका असरहरु बर्षेनी बढ्दै गएका जल, जमिन र पानीको संरक्षणमा सरोकारवाला सवैले ध्यान दिनुपर्नेमा सहभागिहरुको जोड रहेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष विश्व वातावरण दिवस मनाउने गरेको छ ।
प्रतिक्रिया