धनगढीमा तरकारी खेतीबाट वार्षिक ८ लाखको बचत

पाँजलो समाचार
९ जेठ २०८१ ६:३०
धनगढीमा तरकारी खेतीबाट वार्षिक ८ लाखको बचत

धनगढी- धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहेका व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम ९एकीकृत शत्रुजीव व्यवस्थापन०को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्यावसायिक तरकारी खेतीमा लाग्ने उत्प्रेरणा जगाएको हो । १७ कठ्ठा जग्गामा १८ वर्षदेखि तरकारी खेती गर्दै आएका उनले भने, “एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि तालिम लिएर तरकारी खेती सुरु गरे, अहिले वार्षिक तरकारीको कारोबार भइरहेको रु १५ लाखमध्ये रु आठ लाख बचत गर्न सफलता मिलिरहेको छ ।”

उनको घरमा चार सदस्य छन् । अन्य रोजगारी नभएपछि उहाँसहितका परिवारका सदस्यहरुको मुख्य रोजगारी तरकारी खेती नै बनेको छ । भेटेरीनरी जेटिएसम्मको अध्ययन पूरा गर्नुभएका ४० वर्षीय चौधरीले भने, “लोकसेवा दिएर जेटिए ९जुनियर टेक्निकल असिस्टेन्टं० मा नाम निकाल्न सक्थेहोला, तर त्यतातिर ध्यान नदिई जागिर गरेर पाउने तलबभन्दा तरकारी खेतीबाट भइरहेको आम्दानीले सन्तुष्ट छु ।”
उनमा सानैदेखि उद्यमी बनेर गाउँमा रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । उनको कृषि फर्म सञ्चालनमा छ । परिवारका सदस्यबाहेक नियमित रुपमा र सिजनको समयमा गरी उनले सात जनालाई रोजगारी दिएका छन् ।

“बाह्रै महिना सिजन अनुसारका तरकारी लगाउँछु, तरकारी बिग्रिने पनि हुँदैन, लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो”, उनले भने, “तरकारी बारी कहिल्यै खाली हुँदैन् । काँक्रा, फर्सी, पालङ, बोडीलगायतका तरकारी हुर्किदा मन सन्तुष्ट हुन्छ ।”

तरकारीबारीमा व्यापारी पुगेर थोक मूल्यमा तरकारी खरिद गर्ने गरेकोले उत्पादित तरकारी बिक्री गर्न समस्या नरहेको उनले बताए। यसबाहेक धनगढीमा हप्तामा तीन दिन सञ्चालन हुने कृषि हाट बजारमा आफ्नो कृषि उपज बिक्री गर्न ल्याउँछन् ।

तरकारी खेतीसँगै होटल व्यवसाय पनि गरिरहेका दिनेशले पछिल्ला वर्षमा केरा र मेवा खेती पनि गर्न थालेका छन् । उनले भने, “विगत तीन वर्षदेखि सात कठ्ठा जमिनमा केरा खेती गरेको छु । थप जग्गामा तरकारी खेतीसँगै मेवा पनि रोपेको छु ।”

केराबाट मात्रै वार्षिक रु एक लाख ५० हजार बढी हजार आम्दानी हुन थालेपछि यो खेतीको विस्तार गर्ने सोच उनले बताए । केरा खेती विस्तारपछि थप पाँच जनालाई रोजगारी दिन्छु । उनले यो व्यवसायका अलावा बङ्गारा कटान गाउँमा थारु होम स्टे ९थारु घरवास० सञ्चालन गरिरहेका छन् ।

थारु होम स्टेमा थारु समुदायको परम्परागत खानका परिकारले पाहुनाको स्वागत गर्ने गरिन्छ । उनले भने, “होमस्टेमा थारु सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएकोमा कोरोना भाइरसको महामारीसँगै सांस्कृतिक कार्यक्रम भने बन्द गर्यो ।” रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *