काठमाडौँ – जुँगाका रेखी नबस्दै २० वर्षको उमेरमै बेलायती सेनामा भर्ती भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका डम्बरसिं राई गत माघ ७ मा एक सय वर्षका पुगे । तर दोस्रो विश्वयुद्ध लड्दाका स्मरण उनको मनमा अझै पनि ताजै छ । लडाइँका कहालीलाग्दा क्षणका साक्षी बनेका राईले बिर्सुन् पनि कसरी ? फौजी दिनका सुखदुःख सुनाउँदा थप जोसिलो पनि हुन्छन् ।
दोस्रो विश्वयुद्ध सुरु हुनु वर्ष दिनअघि मात्रै सन् १९४३ मा भारतको दरभंगा पुगेर बेलायती सेनामा भर्ती भएका थिए, उनी । भर्ती भएको छ महिनाको तालिम लिएर मासिक १८ रुपैयाँ तलबमा उनी लगत्तै युद्धमा होमिए । कलकत्तादेखि नौ दिन–रात हिँडेर बर्मा (हालको म्यानमार) को रङ्गुन पुगेको सुरुवाती दिन सम्झँदै राईले भने, ‘त्यहाँ पुग्नासाथ हाम्रो जापानी सेनासँग लडाइँ सुरु भइहाल्यो । १६ दिनसम्म भोकैप्यासै लगातार लडियो । खाना खाने त परको कुरा, पानीसमेत राम्रोसँग पाइएन ।’ जापानसँगको बर्मा लडाइँमा निकै दुःख खेपेको बताउने राई अघि भन्छन्, ‘पानी नपाएपछि आफ्नै पिसाब पिएर ज्यान बचाइयो ।’
त्यो लडाइँमा एक जापानी सैनिकले उनलाई भनेका कुराले अहिले पनि राई सोचमग्न हुन्छन् । ‘उसले हामी त देशका लागि लडेका हौं, तिमीहरू त भातका लागि लड्दै छौ, हामीलाई गोली नहान भन्दा मेरो मन साँच्चै पग्लिएको थियो । त्यो कुराले मलाई भित्रैसम्म छोयो तर, के गर्ने फौजी भएपछि मन पगालेर पनि भएन ।’ यही लडाइँमा गन्जु लामाले भिसी (भिक्टोरिया क्रस) पद्वी पाएको पनि उनले सुनाए ।
रङ्गुनमा १६ दिनसम्म लगातार लडेर जापानी सेनालाई परास्त गरेपछि डम्बरसिंसहितको फौज अर्को युद्धमा खटियो । रङ्गुनपारि जर्मनसँग फेरि १७ दिनसम्म लगातार लडे । त्यतिबेला भने राईले नै मृत्युलाई नजिकैबाट देखेको सुनाए, ‘जर्मन सेनाले घेरा हालेपछि हामीले भागेर बालबाल ज्यान जोगायौं । जर्मन सेनाले पुल भाँचिदिएपछि खोलाको किनारै किनार भाग्यौं, काल नआई मरिंदैन रैछ ।’
फौजी छँदा उनलाई घरको यादले हुरुक्कै बनाउँथ्यो । तर, त्यतिबेला चिट्ठी पुग्नै तीन महिना बढि लाथ्यो । सुनाए, ‘गाउँमा चिट्ठी पुगेपछि पनि त्यो पढेर बताउने मान्छे थिएन । सबै अनपढ थिए ।’
युद्धमा दुःख झेलेपनि त्यतिबेला गाउँठाउँमा भने लाहुरेहरूको बेग्लै सान र मान हुने गरेको राईलाई अझै सम्झना छ । भने, ‘त्यस बेला लाहुरे भनेपछि गाउँका मानिस हुरुक्कै हुन्थे । पैसा पनि हुने, देश विदेश पनि घुमेर आएको भएपछि लाहुरेलाई निक्कै मान्थे ।’
दुई लडाइँ लडेर बिदामा घर फर्केका उनी त्यसपछि फर्किएनन् । सात वर्ष मात्रै काम गरेको र छुट्टीमा आएर नफर्किएकाले उनले कुनै सेवा सुविधा पाउने कुरा पनि भएन । ‘घरमा आमा र बहिनी मात्र थिए, यता आएपछि फेरि पल्टन फर्केर गइनँ’ गाउँमै बस्न थालेपछि डम्बरसिं सामाजिक काममा सक्रिय भए । पल्टनमा छँदै पढेका उनी गाउँकै चिसापानी नमुना विद्यालयको संस्थापक प्रधानाध्यापक भएर काम गरे । २०१७ देखि २०५१ सालसम्म ३४ वर्ष शिक्षण पेसा गरेर अवकाश पाएका डम्बरसिंका दुई विद्यार्थी अशोककुमार राई शिक्षामन्त्री र शिव बस्नेत वन राज्यमन्त्रीसमेत भएको सुनाए ।
सय वर्षे उमेरमा पनि डम्बरसिं गाउँ घुम्न र गाउँलेको हालचाल बुझ्न रुचि राख्छन् । चार छोरा र तीन छोरीमध्ये जेठा र माइला छोरा पनि बेलायती सेनामा थिए । जेठा राजनको भने १० वर्षअघि निधन भइसक्यो, माइला निहाज्योति बेलायतमै छन् । साइला छोरा हीमा र कान्छा कैलाश भने गाउँमै छन् । उनी भने कान्छा छोरा–बुहारीसँग बस्छन् ।
कान्छी बुहारी रत्नकलाले सय वर्षमा पनि बुबा उत्तिकै फुर्तिलो रहेको बताइन् । भनिन्, ‘बिहान ५ नै बजे उठ्नु हुन्छ, ६ बजेतिर चिया खाजा खानुहुन्छ । दिउँसो लाठीको सहाराले डुल्नु हुन्छ, घर आएका आफन्तसँग गफिनुहुन्छ ।’ चिल्लो, पिरो र मसलेदार खान नरुचाउने डम्बरसिंलाई दीर्घरोगले सताएको छैन । रत्नकलाले भनिन्, ‘सादा खाना र सक्रियताले नै उहाँ स्वस्थ हुनुभएको जस्तो लाग्छ ।’







प्रतिक्रिया