कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका पाँचवटा क्यामरा गायब गरिएको छ। बाघ गणना गर्न जडान गरिएका ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन्।
निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका छन्। निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए। तिनैमध्ये बेलडाँडी क्षेत्रमा पाँचवटा क्यामरा चोरी भएका छन्। मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक÷एक गरी चार वटा क्यामेरा हराएका छन्।
निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ। जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ।
माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो। बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ। अधिकृत अर्यालले भने, ‘फोटो छुट्याउने कार्य सम्पन्न भएपछि विश्लेषणका लागि विभागमा पठाउँछौं।’ फोटो विश्लेषणका आधारमा विभागले बाघको संख्या यकिन गरी सार्वजनिक गर्ने उनले बताए।
गत वर्षको तुलनमा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ। गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए। निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ। सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिएको छ। शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रूपमा समेत परिचित छ।







प्रतिक्रिया