कविताः- रामराज्यको मृगतृष्णा

दिनेश जोशी
२१ पुष २०८० ६:१०
कविताः- रामराज्यको मृगतृष्णा

भविष्यको सुदूर क्षितिजमा
कल्पनाको सर्वोच्च गगनमा
तर्कनाको तीव्र उडानमा
पँखेटा फिजाउँदै–फिजाउँदै
मनले कल्पिन्छ– एउटा रामराज्य

एउटा त्यस्तो राज्य
जहाँ कहिल्यै सत्य नडगोस्
धर्म नधर्मराओस्
न्याय नमरोस्
भीष्म प्रतिज्ञा जस्तो
वाचा अटल रहोस्
जहाँ हुन्– नीति
र, कर्तव्यमा चलेका नागरिक
सत्यवादी युधिष्ठरजस्ता
कर्तव्यपरायण कुशल शासक

ऊ भन्छ– समाजवाद
म भन्छु– मानवतावाद
ऊ भन्छ– साम्यवाद
म भन्छु– राष्ट्रवाद
ऊ भन्छ– क्रान्ति
म भन्छु– शान्ति
ऊ भन्छ– भौतिकवाद
म भन्छु– अध्यात्मवाद

यस्तै–यस्तै विमतिमै
दशकौँ बितायौँ हामीले
यस्तै असहमतिको
द्वन्द्वमा बाँचेर, समयका घुम्ती
छिचोल्यौं हामीले
अब त ढिलो भइसकेछ
ऊ र म बाहेक
कयौँले हामी बनेर
रामराज्य ल्याइसकेछन्

अलि छिट्टै ऊ र म मिलेर
हामी बनेको भए
अलि छिट्टै ऊ र म बीचको
पर्खाल ढाल्न सकेको भए
सायद आज ऊ र म
‘हामी’ बनेर रामराज्यको
सुखभोग गर्दै हुन्थ्यौँ कि !
सायद आज हामी
त्यही रामराज्यको
उपल्लो चुली टेकेर
उचालिन्थ्यौँ कि !

सायद, उहिल्यै ऊ र म
मिल्न सकेको भए
हामी सहमत हुन्थ्यौँ होला
यस्तो रामराज्य त
त्रेतायुगमा मात्र थियो
तैपनि, हामी बाँचिरहेछौँ
एउटा रामराज्यको
मीठो मृगतृष्ण कल्पेर !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *