काठमाडौं- वरिपरि भरिपूर्ण मान्छेको भिडबिचमा काठको बाकस । कता कता कुनै गीतको सुटिङ हो कि जस्तो लाग्ने । तर, यो वास्तविक थियो, सबैका आखाँबाट आसु बगिरहेको देखिन्थ्यो । त्यहाँको दृश्य हेर्दा सबै भावविह्वल थिए ।
हो, यस्तै नियति भोग्नुपरेको छ तनहुँको व्यास नगरपालिका–५ पाटनका एक परिवारले । गत २१ कात्तिकमा साउदीमा साइकल दुर्घटनामा परी मृत्यु भएका राजकुमार अच्छामीको परिवार यतिबेला पीडामा छन् ।
राजकुमार मनमा थुप्रै सपना बोकेर १५ वर्षअघि साउदी अरब पुगेका थिए । उनका सपना अब कहिल्यै पूरा नहुने भएको छ । उनको परिवारले देखेका सपना पनि अब सदाका लागि अधुरै रहनेछन् ।
त्यसो त राजकुरमा बिचबिचमा बिदा मिलाएर घर आइरहन्थे । तर, डिउटी सकेर कोठातिर साइकलमा जाँदै गर्दा कारको ठक्करबाट उनको मृत्यु भयो ।
घटनापछि उनकी श्रीमती भावविह्वल छिन् । तर, उनी आमा, २ छोरी, श्रीमती र सबै परिवारलाई छोडेर सधंैका लागि अस्ताएका छन् । घरको एक्लो छोराको शव बाकसमा आउँदा आमा पनि भावविह्वल छिन् ।
‘राजकुमारको शव ल्याउन सबैभन्दा पहिला मैले नै समन्वय गरेको हुँ, हाम्रो आप्रवासी सञ्जालको पहलमा सामीअन्तर्गत स्रोतकेन्द्रमा मृतकका परिवार लगेर केस दर्ता ग-यौं,’ आप्रवासी सञ्जाल तनहुँका अध्यक्ष दीपेन्द्र खनालले राजधानीसँग भने, ‘केन्द्रबाट सम्बन्धित निकायमा समन्वय गरी शव झिकाइयो, त्यसमा विशेष योगदान हाम्रो सञ्जालको रह्यो ।’
खनालले भने, ‘पोहोर दसैंमा आएर जानुभएको रहेछ, फेरि एक महिनापछि छुट्टीमा आउने कुरा रहेछ, कारले ठक्कर दिँदा उनको मृत्यु भएछ,’ खनालले भने, ‘साउदी गएको पनि १५ वर्ष भएको रहेछ ।’
उनको शवलाई दुई छोरीले दागबत्ती दिएको र शुक्रबार सेतीमादी संगमस्थलस्थित घाटमा अन्तिम दाहसंस्कार गरिएको अध्यक्ष खनालले बताए ।
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन विदेशमा एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ ।
तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’खोइ मूल्यांकन ? धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।
गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका रूपमा विदेशबाट फर्कने वातावरण रोक्न सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ ।
विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । गत आर्थिक वर्ष २०७९÷८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३ सय २७ जना रहेकोमा १ हजार २ सय ५ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया