दिपायल- सुदूरपश्चिम प्रदेश केन्द्र विन्दु भएर ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए १६ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने अनुमान भूकम्पविदहरुले गरेका छन्।
भूकम्पबाट निजी घर दुई हजार ४४५ पूर्ण रुपमा क्षति र पाँच हजार ९ सय ९५ घरमा आंशिक क्षति पुगेको छ। एक सय २ सरकारी भवनमा पूर्ण क्षति र एक सय ३४ सरकारी भवनमा आंशिक क्षति पुगेको छ। सुदूरपश्चिममा यदि रातिको समयमा ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गएमा १६ हजार ७ सय ७२ जनाको मृत्यु हुने अनुमान राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गरेको छ।
बिदाको दिनमा भूकम्प गएमा १० हजार ७९७ र कार्यालय समयमा भूकम्प गएमा ७ हजार ७६६ जनाको मृत्यु हुने आंकलन गरिएको छ। यसबाट सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा मानवीय क्षति हुने अनुमान गरिएको छ। यस्तो जोखिमको अवस्थामा प्रदेश सरकारले विस्तृत भूकम्पीय प्रकोप तथा जोखिम आंकलन र परिदृश्यमा आधारित कुल क्षति तथा नोक्सानी आंकलन गर्ने, जोखिम न्युनिकरणका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाएर प्रत्येक स्थानीय तहमा भूूकम्प प्रतिकार्य ढाँचा निर्माण गरेर लागु गर्नुपर्नेमा विषय विज्ञहरुले जोड दिएका छन्। यस्ता काम अगाडी बढाउन प्रदेश सरकार तयार रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बताए।

प्रतिक्रिया