धनगढी- गत साउन ३० गते कञ्चनपुरको पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक खण्डमा लक्ष्मी घर्ती मृत अवस्थामा फेला परेकी थिएन।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ आईबिआरडीकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या गर्ने चार जना युवक डेढ महिनापछि पक्राउ परेका हुन् ।
मङ्गलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकालेको प्रेस नोटमा लक्ष्मीको हत्यामा पुनर्वास, बेलौरी र लालझाडीका पाँच युवक संलग्न रहेको उल्लेख गरिएको छ।
साउन २९ गते आफ्नो घर आईबिआरडी बजारदेखि ‘घ’ गाउँस्थित मामाघर जान्छु भनी हिँडेकी लक्ष्मी भोलीपल्ट बिहान घर नजिकैको सडक क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । लक्ष्मीको हत्या भएको भन्दै किटानी दर्ता भएको थियो ।
त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले डेढ महिनापछि सफलता हात पारेको हो । घटनामा संलग्न रहेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने सरोज राना, सोही ठाउँ बस्ने १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा बस्ने ३३ वर्षीय सेनराज राना र नौरङ्गाकै पर्शु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न राज कुमार रानाको खोजी भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले बताए । घटना रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।
साउन २९ गते साँझ मामाघर जान्छु भनेर घरबाट निस्किएकी लक्ष्मीलाई २७ वर्षीय सरोज राना सहित उनीहरू पाँच जनाले ललाई फकाइ मोटरसाइकलमा राखेर लालझाडी जङ्गलमा हात्ती हेर्न बनाइएको टहरामा लगी मदिरा सेवन गराएर टहराको तेस्रो तलाबाट खसालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
राति ९ः३० बजेको समयमा टहराबाट खसाउदा गम्भीर घाइते भई बेहोस अवस्थामा रहेकी लक्ष्मीलाई पाँचै जनाले मोटरसाइकलमा राखेर मृतकको माइतीघर नजिकै सडक किनारमा फालेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानको क्रममा असोज १४ गते ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको जनाएको छ भने घटनामा संलग्न राजकुमार रानाको खोजतलास भइरहेको छ।







प्रतिक्रिया