पूर्वमेयर र इन्स्पेक्टरको मिलेमतोमा निर्घात कुटिएको आरोप

पाँजलो न्युज
२३ भदौ २०८० ७:४१
पूर्वमेयर र इन्स्पेक्टरको मिलेमतोमा निर्घात कुटिएको आरोप

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाका पूर्वमेयर र इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टरको मिलिभगतमा एक युवकमाथि निर्घात कुटपिट भएको आरोप लागेको छ ।

मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि भएको निर्घात कुटपिटको घटनामा पूर्वमेयर अमरसिंह धामी र गौराको सुरक्षाको जिम्मा इन्स्पेक्टर मानसिंह ऐरीको मिलिभगत रहेको पीडित पक्षले आरोप लगाएको हो ।

स्थानीय चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा धामीमाथि समूहमा आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेका थिए ।

धामीको टाउको, अनुहारलगायतका विभिन्न भागमा चोट लागेको छ ।

पूर्वमेयर अमरसिंह धामीको निर्देशनमा कुटपिट गराएको पीडित पक्षको आरोप छ । कुटपिटमा संलनहरु पूर्वमेयरकै गाडीमा आएक रा उनकै गाडीबाट भागेको प्रत्यक्षदर्शीको भनाई छ ।

टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्नुको साटो इन्स्पेक्टर ऐरीले पूर्वमेयर धामीको गाडीमा राखेर भगाउन सहयोग गरेको पीडितका आफन्तको भनाई छ ।

घटनाको केही समय अगाडि इन्सपेक्टर ऐरीले पूर्वमेयर धामीसँगै बसेर मादक पदार्थ सेवन गरेका आरोप पीडित पक्षको छ । उनीहरुले चैतलीचोरमा रहेको एक मदिरा पसलको कोठामा गईसँगै रक्सी सेवन गरेको उनीहरुको दावी छ ।

इन्स्पेक्टर ऐरी ड्यूटी समयमैं मादक पदार्थमा लठ्ठिएको आरोप पनि लागेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी लिई जिल्ला प्रहरी कार्यालयका गएका दिनेशका आफन्तलाई प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फर्काईदिएको दिनेशका आफन्तले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *