(डोटी) सरिता दयालीलाई बिहे गरी सदरमुकाम सिलगढी आएको ९ वर्ष पुग्यो । दुई सन्तानकी आमा उनी दलित महिला संघ (फेडो) की जिल्ला अध्यक्ष हुन् । गौ हत्या विरुद्ध देश व्यापारी आन्दोलन चर्किरहेका बेला सिलगढीकी अधिकारकर्मी दयाली भने जातका कारण भोग्दै आएको पिडाले रन्थनिएकी छन् । दलित भएकै कारण गैर दलितले दूध नदिएको गुनासो गत बुधवार सार्वजनिक कार्यक्रममा भक्कानो फुट्ने गरी व्यक्त उनले व्यक्त गरिन । ‘नियमित घरमा आइरहेको दूध सुनार भनेर चिने देखि नै कनेला गाउँकी दिदी आउनै छोड्नुभयो ’, सिलगढी छाउनीमा बस्दै आएकी उनले आफ्नो घटना सुनाइन, ‘बर्षौ देखि यहीँ अवहेलना सहन बाध्य छु, अहिले आफ्नो पहिचान लुकाएर घर नजिकै रहेको होटलमालिक मार्फत बच्चाहरूलाई दूध खुवाइरहेकी छु ।’ अधिकारकर्मी भएर पनि जातीय विभेदबाट स्वयम सिकार भएकी उनले समाजमा अझै चेतनाको कमी रहेको सुनाइन् । जनावर मारेको आरोपमा मरिहत्ते गर्ने मानिसहरू जातकै कारण विभेदमा उत्रेको देखेर उनी आफै अच्चमीत छन् ।
यता पढाइ र जागिरको सिलसिलामा ०७० सालबाट सदरमुकाम सिलगढी बस्दै आएका शंकर विश्वकर्मा अहिले गैर सरकारी संस्थामा कार्यरत छन् । उनी विगतको घटना अहिले पनि झलझली सम्झन्छन् । बस्नका लागि डेरा खोज्ने क्रममा घर बेटीसँग घर भाडा मूल्यमा समेत सहमति भयो । डेरा सर्ने मिति पनि तय भयो । तर डेरा सर्ने बेला दलित भएको थाहा पाएर घरबेटीले कोठाभित्र पस्नै दिएनन् । त्यो अपमान शङ्करले अहिलेसम्म भोग्दै आएका छन् । दलित भएका कारण डेरा नपाउने भएपछि उनी दलित अधिकारकर्मीकै घरमा डेरा बसेका छन् ।
सिलगढीमा बाल्यकाल देखि युवा उमेर बिताएका वबि कुमार सामाजिक अभियन्ता हुन । दलित युवाहरूले स्थापना गरेको सम विकास केन्द्रमा दुई दशक काम गरेका वबिको गुनासो पनि सरिता झैँ छ । दलित भएकै कारण आफ्नो परिवार दूध पिउनबाट वञ्चित रहेको आरोप लगाउँछन् । ‘घरमा दूध चाहियो भने डेरी तथा होटेलमा जानु पर्छ,’ वबिले गुनासो राखे, ‘अहिलेको २१ औँ शताब्दीमा हामी अधिकारकर्मी नै वर्षौँदेखि विभेदमा छौँ भने अरू सर्वसाधारण दलितको अवस्था के होला ?’
सदरमुकाम सिलगढीमा अधिकारकर्मीहरू नै जातीय विभेदमा परेको गुनासो गर्न थालेका छन् । स्वयमले दूध नपाएको , डेरा नपाएको , सार्वजनिक पानी पँधेरो तथा मठमन्दिरमा विभेद भइरहेको गुनासो उनीहरूको छ । सदरमुकाम सिलगढीमा पढेलेखेको र बुज्रुक समुदाय भए पनि जातीय र लैङ्गिक हिंसामा बढी विश्वास गर्ने प्रवृत्ति यथावत् रहेको आरोप छ ।
कुल बिग्रने, देवीदेवता रिसाउने, गाइभैंसीले दूध नलाग्ने जस्ता रुढीवादी अन्धविश्वास भएका कारण दलितलाई दूध र डेरा दिन आनाकानी गर्ने गरिएको अधिकारकर्मीहरू बताउँछन् । झुक्कीएर कसैले केही दिन दूध दिइहाले पनि छिमेकमा रहेका अन्य गैर दलितले नै उक्साएर दलितलाई दूध किन दिएको भनेर हतोत्साहित गर्ने प्रवृत्ति समेत छ । समाजका कारण पनि उहाँहरूलाई दूध दिन अप्ठेरो लाग्छ’,कलेनाबाट दूध बेच्न आएकी एक महिलाले भनिन्, क महिलाले भनिन्, ‘पैसा चल्ने दूध नचल्ने भन्ने त होइन, सामाजिक बाध्यताले गाह्रो भइरहेको छ ।’
सिलगढी नेपालका चार गौणामध्य एक ऐतिहासिक एवम् व्यापारिक महत्त्व बोकेको बजार हो । सिलगढीमा नेवार समुदायको बाहुल्यता रहे पनि पछिल्लो समय अन्य जातिको बसोबास समेत बाक्लिँदै गएको छ । सिलगढी आसपासका बस्तीहरू पुन्ना, धामीगाउँ, कनेला, पाकरीबाट अधिकांश गैर दलित किसानहरूले घरघरमा पुगेर दूध, तरकारी, फलफूल बिक्रीका लागि ल्याउने गर्छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश मलासीका अनुसार सिलगढी बजारमा ३ सय ५० घरधुरी रहेको छ । जस मध्य दुई सय घरधुरी दलित समुदायको मात्रै भए पनि आफूकहाँ जातियताका कारण दूध नपाउने , डेरा नपाउने जस्ता गुनासो नआएको बत्ताउँदै वडाध्यक्ष मलासीले त्यस्तो घटना सुन्ने वित्तिक्कै हामी सहजीकरण गर्न तयार रहेको बताए । वडा नं. ६ सिलगढीमै घर भएका वडा सचिव हरि सुन्दर श्रेष्ठले पनि आफ्नै छरछिमेककीको घरमा निर्वाध रूपमा दलित समुदाय भाडामा बसिरहेको बताए । जातीय विभेद भएका घटना वडामा समेत नआएको वडा सचिव श्रेष्ठको दाबी छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार डोटीको जनसङ्ख्या २ लाख ४ हजार ८ सय ३१ रहेकोमा दलितको जनसंख्यामात्रै ५० हजार ३ सय छ । जुन २४.५७ प्रतिशत हुन आउँछ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले भने दुई वर्षयता जातीय विभेद सम्बन्धी मुद्धाहरु नआएको बताए । जातीय विभेदका मुद्धाहरु आएमा आफूहरू संवेदनशील भएर न्याय दिन तयार रहेको एसपी धमला बताउँछन् ।
जातीय विभेदका घटनाहरूमा कमी आइरहेको दाबी भइरहेका बेला दलित अधिकारकर्मीबाट नै गुनासो आएको छ । जिल्ला समन्वय समितिकी उप प्रमुख स्मृति चुनारा विक पनि सदरमुकाममा भइरहेको जातीय विभेदका घटनाले लज्जित तुल्याएको बताउँछिन् । ‘ठाउँ ठाउँमा विभेद छ, अझै जान्ने बुझ्ने मानिस बस्ने सहरमै छ’, उनले गुनासो गरिन, ‘देवीदेवता र भगवानका नाममा मानिसले मानिसलाई छुन हुँदैन भन्नु कतिसम्मको हास्यास्पद हो ।’
विगतको तुलनामा जातीय विभेदमा सुधार आए पनि सदरमुकाम सिलगढीमै अधिकारकर्मीहरू नै विभेदमा परिरहेको गुनासो आउनु दुखदायी रहेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकार बताउँछन् । उनी पनि जातियताकै कारण विभेद भइरहेको कुरामा सहमत छन् । ‘जातका कारण देखाएर दूध नदिने, डेरा नदिने, मन्दिरहरूमा विभेद गरिरहेका घटनाहरू मैले पनि सुनेको छु । म र मसँगै रहेको मेरो समुदायको अर्को व्यक्तिमाथि गरिने व्यवहार फरक भएको आफैँले महसुस गरेको छु ’, उनले भने, ‘गरिबी र अशिक्षाले पश्चिम नेपालमा जातीय विभेद बढी छ , त्यही भएका कारण सरोकारवाला एकजुट हुन आवश्यक छ ।’
अधिकारकर्मी नै जातीय विभेदका घटना सहेर बस्नु विडम्बना रहेको जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । ‘एउटै समाजमा बस्नु परेका कारण विद्रोहमा उत्रन अधिकारकर्मीहरू समेत सकिरहनु भएको छैन, अरूको अवस्था झन् के होला ?’, समन्वय प्रमुख सिंहले भने, ‘यो त जिल्लाकै बेइज्जत हो, यस्ता गतिविधि रोक्न सबै एकजुट हुनु पर्छ ।’







प्रतिक्रिया