कैलालीमा भारतीय मलकै भरमा धान खेती

पाँजलो न्युज
११ साउन २०८० ५:४०
कैलालीमा भारतीय मलकै भरमा धान खेती

टीकापुरः  कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्। जिल्लाका किसानले रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनन्।

टीकापुर–८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ। बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ।’ भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन्। चौधरीले सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाएनन्। सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौँ की नगरौँ भन्ने दोधारमा थिए। बर्सेनि बाढीले क्षति पु¥याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निरास भएका थिए। मल नपाएपछि खेती गर्न मन मरेको स्थानीय शेरबहादुर साउँदले बताए।  उनले भने, ‘सात बोरा डिएपी र सात बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन। भारतबाट ल्याएर प्रयोग गरे।’

टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन्। यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका छन्। यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन्। ‘सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौँ’, वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने।

अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए।  ‘सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन’, उनले भने। सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो। भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन।

जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो। उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए। ‘मलाई १४ क्विन्टल मल आवश्यक थियो’, उनले भने। सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा पाँच दिन लगाएर मल पाएको उनले बताए।

किसानलाई धान खेती हुर्किएपछि पनि मल आवश्यक पर्छ। तर अहिले पनि मल अभाव छ। किसानका लागि आवश्यक मल र बीउ सहजै उपलब्ध हुनुपर्छ। मल, बीउ र सिँचाइजस्ता कुरा सहज भए उत्पादन वृद्धि गर्न तथा किसानलाई कृषितर्फ आकर्षित गर्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *