(डोटी) बहुप्रतिक्षीत धनगढी–खुटिया–विपीनगर–दिपायल–बझाङ–उरैभञ्ज्यांग सडक अन्तगतको दिपायल एयरपोर्ट देखि तिखा सडक खण्डको कालोपत्रे निर्माण कार्य स्तरीय नभएको गुनासो स्थानीयले गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाको भाग्य रेखा मानिएको सो सडक निर्माण कार्यमा देखिएका कमजोरी तत्काल सुधार नगरे कडा कदम चालिने चेतावनी स्थानीयले दिएका छन् ।
जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, दिपायल सिलगढी नगरपालिका नगरप्रमुख विजय खड्का, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, धनगढी–खुटिया–विपीनगर–दिपायल–बझाङ–उरैभञ्ज्यांग सडक आयोजनाका इन्जिनियर दिनेश रैखोला तथा पत्रकार सहितको टोली गत शुक्रवार सो सडकको अनुगमनमा जाँदा स्थानीयले सो गुनासो गरेका हुन् । अनुगमन समितिले समेत सडक निर्माण कार्यमा कैफियत औँल्याएको छ ।
धनगढी–खुटिया–विपीनगर–दिपायल–बझाङ–उरैभञ्ज्यांग सडक आयोजना विपीनगर कार्यालयले २०७८ जेठ २८ गते निर्माण व्यवसायीसँग साढे १४ करोडको सम्झौता गरी ९.४ किलो मिटर एयरपोर्टदेखि तिखासम्मको सडक खण्ड कालोपत्रे ( डिपेस्टी प्रविधिबाट) गराइरहेको छ । जस मध्य ६ किलोमिटर भने कालोपत्रे भइसकेको धनगढी–खुटिया–विपीनगर–दिपायल–बझाङ–उरैभञ्ज्यांग सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए । इञ्जनियर रैखोलाका अनुसार सो सडकको वित्तीय प्रगति भने ८५ प्रतिशत भइसकेको छ । त्यस्तै तिखादेखि मेल्लेखसम्मको १५.३ किलोमिटर सडक खण्ड पनि आयोजनाले अर्को ठेक्का दिई नाली कटिङ र निर्माण कार्य भइरहेको छ ।
सो सडकको अनुगमनका क्रममा कालोपत्रे गरिएको ठाउँमा पानी जम्ने गरेको, मोडहरूमा सतह नमिलेको तथा कालोपत्रेमा गिट्टीको चिप्स राम्रोसँग नचप्काएको भेटिएको थियो ।

अटो रिक्सा चालक एवम् स्थानीय प्रेम बहादुर खड्काले मोडहरू नमिलेको गुनासो गरे । मोडहरूमा खाल्डाखुल्डी जस्तो भएकाले अटो नै सो सडकमा अटो नै चलाउन अप्ठेरो भइरहेको गुनासो पोखे । अर्का स्थानीय रामसिंह खड्काले नाली र कालोपत्रेको सतह नमिलेको बताए । उनले अहिले नै कालोपत्रे गरिएको कतिपय भागमा पानी जम्ने गरेको आरोप लगाए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् स्थानीय जीत बहादुर खड्काले सडकको समग्र प्रगति राम्रो भए पनि माथिल्लो भागमा कालोपत्रे गर्दा गिट्टीका चिप्सहरू नचप्काएकाले मापदण्ड अनुसारको काम पुनः गराउनु पर्ने सुझाव दिए ।
अनुगमन समिति पनि असन्तुष्ट

दिपायल मौवा मेल्लेख सडकको कालोपत्रे हेर्न गएको अनुगमन समिति समेत असन्तुष्ट रहेको छ । जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले कालोपत्रे गरिने बेला प्राविधिकहरूको अनुगमनको कमजोरी नभएको आरोप लगाए । प्राविधिकहरूको कमजोरीका कारण मोडहरूमा गुणस्तरीय काम नभएको सिंहले बताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल समेत कालोपत्रे निर्माणमा केही कमजोरी देखिएको बताउँछन् । प्रमुख जिल्ला अधिकारी अर्यालले विवादका कारण खैरतोला क्षेत्रमा निर्माण कार्य रोकिएको , मोडहरूमा उबडखाबड रहेको तथा कालोपत्रे गरिएको ठाउँमा पानी जम्ने गरेको पाइएकाले सो कुरा निर्माण व्यवसायीले सुधार्नुपर्ने बताए । हालै मात्र सरुवा भई डोटीका आएका अर्यालले स्थानीयबाट गुणस्तरीय कार्य नभएको गुनासो आएपछि आफू अनुगमनका लागि आएको जानकारी दिए । उनका अनुसार अनुगमन टोलीका तर्फबाट सो सडकमा सुधार गर्नुपर्ने कामहरूबारे लिखित प्रतिवेदन नै सम्बन्धित पक्षलाई बुझाउने भएको छ ।
धनगढी–खुटिया–विपीनगर–दिपायल–बझाङ–उरैभञ्ज्यांग सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले १÷२ ठाउँमा मोड सुधार गर्नुपर्ने देखिएको बताए । निर्माण समयावअधी अझै बाँकी रहेकाले सुधार गर्नुपर्ने कुराहरूमा आफूहरू तयार रहेको इन्जिनियर रैखोलाले प्रतिबद्धता गरे ।
आश्रय प्रशंसा र दुनिला कन्स्ट्रक्सन जेबीमा एयरपोर्ट देखि तिखासम्मको कालोपत्रेको काम भइरहेको छ ।
प्रतिक्रिया