पठन संस्कृतिका समसामयिक समस्याहरू र पढाइ कुनो 

विचार

केशवराज भट्ट 
१७ असार २०८० १३:५३
पठन संस्कृतिका समसामयिक समस्याहरू र पढाइ कुनो 

सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मानिसले सम्मानजनक रूपमा जीवनयापन गर्नका लागि न्यूनतम हक अधिकारको सुनिश्चित ग¥यो । विभिन्न हक अधिकारमध्ये शिक्षालाई पनि एक महत्त्वपूर्ण अधिकारको रूपमा लियो । शिक्षा मानव जीवनका लागि अपरिहार्य छ । यसमा दइमत नै छैन । शिक्षा मानव जीवनका हरेक चरणहरूमा फरक फरक किसिमले आवश्यक पर्दछ । त्यसैले शिक्षा जीवनपर्यन्त प्रक्रिया हो । जीवनपर्यन्त शिक्षाका सन्दर्भमा युनेस्कोले “जीवनपर्यन्त शिक्षा समाजको रूपान्तरणको आधारभूत प्रक्रिया हो । त्यसैले पूरै समाज नै प्रत्येक व्यक्तिका लागि अध्ययनको स्रोत बन्न सक्दछ ।” भन्ने कुरालाई जोड गरेको छ ।

यसकारण बालबालिकाहरूलाई सानै उमेरदेखि शिक्षामा पहुँच पु¥याउनु अपरिहार्य छ । विशेषगरी अपाङ्गता भएका बालबालिका, विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरू र आर्थिक हिसाबले कमजोर परिवारका बालबालिकाहरूका लागि शिक्षामा वैकल्पिक उपायहरूको खोजी गरिनुपर्दछ । शैक्षिक गुणस्तर केन्द्रको एक अध्ययन अनुसार प्रारम्भिक बालविकास केन्द्रमा अध्ययनरत करिब ४० प्रतिशत बालबालिकासँग कुनैपनि बाल किताब तथा चित्र किताबहरू उपलब्ध छैन भने ५८ प्रतिशत पाँच र सो भन्दा कम सङ्ख्यामा यस्ता सामग्री उपलब्ध छन् ( प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाहरूको सिकाइ तथा विकास परीक्षण २०७८ )। एकातिर घरमा पर्याप्त मात्रामा बालबालिकाहरूका अध्ययन सामग्री छैनन् तर अर्कोतिर हिजोआज प्रायः बालबालिकाहरू अधिकांश समय मोबाइल वा कम्प्युटरमा बिताइरहेका हुन्छन् । अभिभावकहरूले समेत मेरो छोराछोरीले त मोबाइलबिना खाना नै खाँदैन, मोबाइल दिएन भने भनेकै मान्दैन भन्ने जस्ता गुनासाहरू प्रशस्तै गरिरहेका हुन्छन् । यी कुरा सुन्दा अलि सामान्य नै लाग्ला तर यो एउटा समस्याले अन्य मनोसामाजिक समस्याहरू निम्त्याइरहेका हुन्छन् । सामाजिकीकरणमा व्यापक समस्या निम्त्याएको छ । यसले आर्थिक रुपमा कमजोर र सम्पन्न परिवारबीच गहिरो खाडल निर्माण गरेको छ । बालबालिकाहरूले सबैभन्दा बढी समय घरमा अभिभावकसँग बिताउने गर्दछन् तर घरमै उनीहरूको समयको सही सदुपयोग हुन सकेन भने बालबालिकाले गलत अर्थ बुझ्ने, गलत बाटोमा हिँड्ने वा सही शिक्षा पाउन सक्दैनन् । बालबालिकाको सर्वाङ्गीण विकासका दृष्टिकोणले त प्रशस्त समय खेल्न, रमाइलो गर्न अनि सामाजिकीकरणका हिसाबले पनि अन्तरक्रिया गर्ने, एकअर्काका कुरा सुन्ने र बुझ्ने अवसर बालबालिकाहरूमा हुन पर्ने हो तर प्रायः यो हुन सकेको छैन ।

नेपालको सन्दर्भमा गुरुकुल शिक्षाबाट सुुरु भएको हाम्रो शिक्षा प्रणाली विभिन्न परिवर्तनकै कारण आजको औपचारिक शिक्षा प्रणालीसम्म आइपुगेको छ । गुरुको आश्रममा जाने र आवश्यक ज्ञान र सिप सिक्ने अनि केही विषयमा दक्ष हुने शिक्षा प्रणालीमा बालबालिकाको सिकाइ र सामाजिकीकरण जस्ता पक्ष महत्वपूर्ण नै थिए । घरमा बालबालिकाहरूका लागि पौराणिक लोककथा सुनाउने हाम्रो पुरानो परम्परा अचेल हराउँदै गइरहेको छ । अनि अभिभावक र बालबालिका बीचको दुरी पातलो बन्दैै गइरहेको छ । अझ पठन संस्कृति त झन् दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । बहुसांस्कृतिक कक्षा जहाँ भाषिक हिसाबले सिकारुहरूले दोस्रो भाषामा गरिएका शिक्षण सिकाइलाई बुझ्न कठिनाइ भइरहेको हुन्छ, त्यस्तो कक्षाका बालबालिकाहरूलाई सिकाइका बहुविकल्पहरूको व्यवस्थापन गरिनु पर्दछ । पर्याप्त सिकाइ सामग्रीहरूको व्यवस्थापन बढी नै आवश्यक हुन्छ ।

विद्यालयमा गरिने अध्ययनले मात्रै बालबालिकाको सिकाइ पर्याप्त हुन सक्दैन । घर, समाज र विद्यालयका सिकाइले बालबालिकामा पूर्णता ल्याउन सहयोग हुन्छ । यही अवधारणाको एउटा अभ्यास हो “पढाइ कुनो” । आर्थिक रुपमा कमजोर परिवारका बालबालिकाहरूका लागि यसले पठन सीप विकासमा महत्वपूर्ण योगदान दिएको छ । अभिभावकको सहयोगमा स्थानीय सामग्रीबाटै निर्मित पठन सामाग्री, बालबालिका स्वयम्ले निर्माण गरीएका सामाग्री र स्थानीय बजारबाट खरीद गरेर ल्याएका वा उपहार स्वरुप प्राप्त पठन सामाग्री राखेर यसको निर्माण गर्न सकिन्छ। पढाइ कुनोका निर्माणले बालबालिका र अभिभावक बीचको सम्बन्ध प्रगाढ बनाउनमा सहायता गर्दछ । अभिभावकको क्षमता अनुसार आवश्यक पुस्तकहरू राखेर यसको निर्माण गर्न सकिन्छ । यसको सबैभन्दा सुन्दर पक्ष भनेकै बालबालिकाद्वारा निर्मित चित्र, गीत, कविता, कथा जस्ता पुस्तक वा सामाग्रीहरूको प्रदर्शनी हो । जसले बालबालिकाहरूलाई थप सृजनशील बनाउन सहायता गर्दछ ।

हाल नेपालमा विभिन्न विकास साझेदार संस्थाहरूले स्थानीय सरकारको समन्वयमा कक्षा १ देखी ३ सम्मका बालबालिकाहरूका लागि पढाइ कुनो निर्माणमा सहायता गरेका छन् । कक्षाकोठामा शारीरिक हिसाबले अपाङ्गता भएका बालबालिकाहरू पनि हुन्छन् । उनीहरूका लागि उपयुक्त वातावरण नहुँदा उनीहरूको सिकाइ त झन् अफ्ठेरोमा परिरहेको हुन्छ । उनीहरूका लागि पुस्तकालय पहुँचयुक्त ठाउँमा हुँदैन । यसले गर्दा उनीहरू थप अध्ययन सामग्रीबाट बञ्चित हुनुपर्ने हुन्छ । यसको उपयुक्त विकल्प भनेको घरमा नै “पढाइ कुनो” को व्यवस्थापन महत्वपूर्ण मानिन्छ । त्यस्ता बालबालिकाहरू आफ्नो रुची र आवश्यकता अनुसार निश्चित समयमा अध्ययन गर्न सक्छन् । नेपाल भौगोलिक हिसाबले पनि विविधतापूर्ण छ । यहाँका सबै बस्तीसम्म बाटो पुगेको छैन्, विद्यालयहरूमा पुस्तकालयको व्यवस्था हुन सकेको छैन । यसले गर्दा पर्याप्त थप पाठ्य सामाग्रीको उपलब्धता न्यून छ अथवा छैन भन्दा हुन्छ । यस दृष्टिकोणले हेर्दा पनि त्यस्ता दुर्गम बस्तीका बालबालिकाहरूका लागि अभिभावकको सहयोगमा घरमै “पढाइ कुनो” स्थापना गर्न सकियो भने बालबालिकाहरूको भविष्यका लागि ठुलो सहायता हुन्छ । अझै आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू, जसले बजारमा उपलब्ध महङ्गा पाठ्यपुस्तक खरिद गरेर पढ्न सक्दैनन् ।

स्थानीय परिवेशका पाठ्य सामाग्रीहरूसहितको पढाइ कुनोको व्यवस्थापन गर्न सकिएमा सिकाइ एवम् अवसरमा हुने असमानता कम गर्न सकिन्छ । प्रायः खेतीपातीमा निर्भर समुदायका अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पढाइ कुनामा व्यस्त गराएर आफू निर्धक्क भएर अन्य काममा समय दिन सक्छन् । यसकारण सिकाइमा रहेका असमानता कम गर्न बालबालिकाहरूका लागि घरपरिवार नै एक अनौपचारिक विद्यालयका रूपमा प्रयोग गरिनु पर्दछ । सिकाइका लागि उपयोग गरिनुपर्छ । राज्यले सिकाइ वातावरण निर्माण गर्नका लागि पर्याप्त लगानी गर्नु पर्दछ । अभिभावकलाई जिम्मेवार बनाउनका लागि स्थानीय सरकारले आवश्यक रणनीति निर्माण गर्नु पर्दछ । स्थानीय स्तरका लोककथा, संस्कृति एवं परम्परामा आधारित सामाग्रीहरूको उच्चतम् प्रयोग गरी घरमै सिकाइ वातावरण मजबुत बनाउनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *