मोहन शाही (डोटी)- व्यवहारिक शिक्षा लागु गर्ने भन्दै डोटीका चार पालिकाहरुले १६ बुँदे डोटी घोषणा पत्र सोमबार जारी गरेका छन् ।
दुई दिनको छलफल तथा अन्तरक्रिया पछि दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउपालिका र पुर्वीचौकी गाउँपालिकाले संयुक्त रुपमा घोषणा पत्र जारी गरेका हुन् । पालिकाका प्रमुखहरुले घोषणा पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै जीवन उपयोगी तथा व्यवहारिक पढाईमा जोड दिने बताएका छन् । घोषणापत्रको पहिलो नम्बरमा गुणस्तरिय तथा व्यवहारिक शिक्षाको मापनका लागि पालिकाले छुट्टै सुचकहरु निर्धारण गरि बार्षिक रुपमा अनिवार्य स्वःमुल्याङ्कन गर्ने उल्लेख छ । व्यवहारिक शिक्षामा उत्कृष्ट शिक्षक, बिद्यार्थी र बिद्यालयलाई प्रोत्साहन गर्ने गरी क्रियाकलाप संचालन गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको शिक्षाबिद् तथा प्राध्यापक डा. बिद्यानाथ कोइरालाले जानकारी दिए । व्यवहारिक शिक्षाको पक्षमा लामो समयदेखि वकालत गर्दै आएका कोइरालाले नै ४ पालिकाहरुबिचको अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गरेका थिए । कोइरालाले पालिकाहरुकाे व्यवहारिक शिक्षा लागु गर्न गरेको तत्परता कार्यान्वयनमा लैजान शिक्षक, जनप्रतिनिधी तथा शिक्षक महासंघ गम्भिर हुन सुझाव दिएका छन् । घोषणापत्रमा चुनौतीको रुपमा रहेको बिद्यालय छोड्ने दरलाई सुन्यमा झार्ने, भर्नादर सतप्रतिशतमा पुर्याउने, अभिभावकहरुमा सचेतना एवम् सहयोगका माध्यमबाट विद्यार्थीहरुको दैनिक उपस्थिति दर बढाउने लगायतका कुराहरु उल्लेख गरिएका छन् ।
चार पालिकाबिच संचालन भएको अन्तरक्रियामा पालिकाका प्रमुख तथा अध्यक्ष सहित ३० बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पालिकाका शिक्षा शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो । पालिकाका प्रमुख तथा अध्यक्षहरुले जारी गरेको घोषणा पत्रमा प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पालिकाका शिक्षा शाखा प्रमुखले समेत सहमती गरेका छन् । शिक्षा क्षेत्रमा लामो समयदेखि डोटीमा कार्यरत सामुदायिक बिकास मञ्च (सिडिसी) ले सो अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको थियो । सिडिसीका अध्यक्ष हेमराज जोशीले शिक्षा क्षेत्रको बिकास र प्रबर्धन गर्ने सबैंधानिक अधिकार स्थानिय सरकारलाई भएकाले ब्यवहारिक शिक्षामा जोड दिनका लागि दायित्व बोध गराएको बताए ।
‘अक्षर घोकेर नतिजा ल्याउने बिधार्थीमात्र उत्कृष्ट हुन्छ भन्ने पराम्परागत शिक्षा प्रणाली भन्दा पढाई पश्चात केही न केही इलम गरेर खानसक्छु भनेर व्यवहारिक ज्ञान पाएको बिद्यार्थी पनि सफल हो’, दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिं खड्काले घोषणापत्र जारी गर्दै भने, ‘अब देखि ४ वटै पालिकाहरू व्यहारिक शिक्षाको पनि मुल्यांकन गर्न मानक बनाएर अघि बढ्ने प्रतिबद्धता गरेका छौं । तीन बर्षमा पालिकाभित्रका बिधार्थीहरु कुनै न कुनै सीप सिकेको पाउनु हुनेछ ।’ आदर्श गाउपालिका अध्यक्ष गणेश बहादुर खड्काले पालिकाले घोषणापत्रमा जारी गरेका बुँदा लागु गर्न तयार रहेको बताए । ‘पालिकाको स्रोतले भ्याएजति शिक्षा क्षेत्रमा लगानी गर्न र बाताबरण श्रृजना गर्न म तयार छु’, अध्यक्ष खड्काले भने, ‘त्यस वापत बिद्यालय प्रशासनले नतिजा दिन कम्मर कसेर लाग्नु पर्छ ।’
सायल गाउपालिका अध्यक्ष धर्मराज जोशीले शिक्षा क्षेत्रमा थुप्रै चुनौती भएपनि व्यवहारिक शिक्षा लागु गर्न पालिकाहरुले नै अघि सर्नुपर्ने बताए । ‘पालिकाभित्र सिमित बजेटका कारण काम गर्न थुप्रै बाकी छन्, अध्यक्ष जोशीले भने, ‘तर आज घोकाएर पढाएको शिक्षा भविष्यमा काम लाग्दैन भने त्यसको के काम ? त्यसैले व्यवहारिक शिक्षा लागु गर्न हामी अघि बढेका हौं ।’
सो अन्र्तक्रिया कार्यक्रममा प्रस्तुत गरेको प्रतिबेदनमा डोटीमा बिद्यार्थीहरुको कमजोर सिकाई उपलब्धी, बिद्यालय छोड्नेहरुको उच्च दररेट, कक्षा कोठामा अनुपस्थित हुने उच्च संख्या, बिद्यालय प्रशासनको बेवास्ता, मापदण्ड अनुसारको भौतिक संरचना अभाव तथा दरबन्दी अनुसारका शिक्षकहरुको अभाव जस्ता समस्याहरु प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया