धनगढी– सुदूरपश्चिम प्रदेशमा बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा नीतिगत तहमा प्रभावकारी कार्यान्वयनका लागि प्रदेशस्तरीय समिति गठन गरिएको छ ।
बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै प्रदेश र स्थानीय तहका नीति, कानुन, योजना, कार्यक्रम तथा सेवा प्रवाहमा बालअधिकारको दृष्टिकोण समावेश गराउने उद्देश्यसहित समिति गठन गरिएको जनाइएको छ ।
समितिको संयोजकमा सामुदायिक विकास केन्द्र डोटी का हेमराज जोशी , सदस्यमा पवन भण्डारी, सेवक नेपाल कैलाली, राधिका गिरी बाल कल्याण संघ टिकापुर श्रवण देउवा (नेपाल पत्रकार महासंघ कैलाली) बाबुराम श्रेष्ठ (आइडिएस) डडेल्धुरा, धर्मबहादुर रोकाया पिस विन बाजुरा, सुरतबहादुर खड्का (वाक नेपाल) अछाम, मानबहादुर ऐर (बिसिडिओ) बैतडी, दिनेश रोकाया (सहारा नेपाल) बझाङ, उदय बोहरा सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडिएस नेपाल), भावना के सि नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुर र देव सेराला (डब्लुडिएफ) बाजुरा चयन भएका छन् ।
समितिले विशेष संरक्षणको आवश्यकता भएका तथा समग्र बालबालिकाको अवस्था अध्ययन गरी उनीहरूको अधिकार सुनिश्चित गर्न आवश्यक पैरवी र संयुक्त कार्यक्रम सञ्चालन गर्नेछ । साथै, बालअधिकार हननका घटनाहरूको अनुगमन गरी तथ्यमा आधारित नीतिगत बहस, संवाद तथा सिफारिस कार्यान्वयनमा जोड दिने जनाएको छ ।
यसैगरी, नेपालले हस्ताक्षर गरेका संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न महासन्धिहरूसँग सम्बन्धित बालअधिकारका सिफारिस कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र छलफललाई प्राथमिकता दिइनेछ । बालअधिकार क्षेत्रमा क्रियाशील संस्थाबीच सिकाइ तथा अनुभव आदानप्रदान गर्दै सदस्य संस्थाहरूको क्षमता विकासमा समेत समिति सक्रिय रहने बताइएको छ ।
समितिको कार्यक्षेत्रअन्तर्गत बालमैत्री नीति, योजना, बजेट तथा सेवा प्रवाहमा सुधारका लागि प्रदेश सरकारसँग पैरवी गर्ने, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धन गर्ने, बालअधिकारसम्बन्धी तालिम तथा अभिमुखीकरण सञ्चालन गर्ने लगायतका गतिविधि रहेका छन् ।
साथै, बाल क्लब सञ्जाल तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्दै प्रदेश सरकार, स्थानीय तह र अन्य निकायबीच प्रभावकारी समन्वय र सहकार्यलाई मजबुत बनाइने उल्लेख गरिएको छ । बैठकले यो सञ्जालको संयोजन गर्ने जिम्मेबदारी सामुदायिक विकास केन्द्रलाई दिएको छ भने केन्द्रको धनगढी कार्यालयमा नै सचिवालय राख्ने निर्णय गरिएको सयोजक हेम जोशीले जानकारी दिए ।







प्रतिक्रिया