नेपाली राजनीतिमा नेतृत्वको खडेरीको चर्चा भइरहेका बेला, विद्यार्थी राजनीतिबाट खारिएर राष्ट्रिय राजनीतितर्फ उक्लिन खोजिरहेका केही अनुहारहरूले आशा जगाएका छन्। तीमध्ये एक नाम हो – श्यामराज ओझा । उनी व्यक्ति मात्र होइनन्; आजको सन्दर्भमा उनी एक राजनीतिक ब्रान्ड बन्दै गएका छन्- संघर्ष, विचार, संगठन र भरोसाको ब्रान्ड। 
विद्यार्थी राजनीतिबाट राष्ट्रिय आकांक्षासम्म सुदूरपश्चिमको डोटी जिल्लाको के.आई.सिंह गाउँपालिकामा जन्मिएका श्यामराज ओझाको जीवन यात्रा साधारण छ, तर दृष्टि असाधारण। सानै उमेरमा बुवा गुमाएपछि आमाको संघर्ष, त्याग र राजनीतिक चेतनाले हुर्किएका ओझाले आमालाई आफ्नो राजनीतिक गुरु मान्छन्। आमा स्वयं नेपाली कांग्रेसकी क्रियाशील सदस्य भएकाले जनसेवा र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता उनको बाल्यकालमै रोपिएको देखिन्छ।
२०६४ सालको निर्वाचनमा ११ वर्षकै उमेरमा पर्चा बोक्दै चुनाव प्रचारमा होमिएका ओझा १४ वर्ष लामो विद्यार्थी राजनीतिक यात्रापछि त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भए। त्यो जित सामान्य थिएन-उनी Man of the Election घोषित भए, जसले उनको सांगठनिक क्षमता, लोकप्रियता र राजनीतिक परिपक्वताको पुष्टि गर्यो।
त्रिभुवन विश्वविद्यालयमा स्थापित नेतृत्व
२०७४ सालदेखि त्रिभुवन विश्वविद्यालयका हरेक आन्दोलनमा अग्रपंक्तिमा उभिएका ओझा विश्वविद्यालय राजनीतिमा नयाँ अनुहार होइनन्। परीक्षा सुधार आन्दोलन, सेवा आयोगका अनियमितताविरुद्धको संघर्ष, प्रश्नपत्र चुहावट र दोहोरिनेजस्ता गम्भीर विषयमा उनले निरन्तर आवाज उठाए। आफ्नै पार्टी नेतृत्वको सरकारका विद्यार्थी हितविरुद्धका निर्णयमा समेत उनले नडराई प्रतिवाद गरे-यही कारण उनी केवल पार्टी कार्यकर्ता नभई विद्यार्थीको प्रतिनिधि आवाज बने।
स्ववियु सभापतिका रूपमा उनी सिनेट सदस्यसमेत बने। तथ्यांक आफैं बोल्छन् ; करिब पाँच लाख विद्यार्थी आबद्ध त्रिभुवन विश्वविद्यालय प्रणालीभित्र उनले अनलाइन बैठक र परामर्शको संस्कार सुरु गरे। विश्लेषणका आधारमा करिब तीन लाख विद्यार्थी उनीसँग परिचित, एक लाखभन्दा बढी सक्रिय रूपमा सन्तुष्ट, र ५५ हजारभन्दा बढी विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्क रहेको देखिन्छ। यही सामाजिक-राजनीतिक पूँजीका आधारमा उनको उम्मेदवारीले कम्तीमा दुई लाखसम्म समानुपातिक मत प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।
संकटमा साथ, आन्दोलनमा नेतृत्व
कोभिड–१९ महामारीका बेला उनले नेतृत्व गरेको मोबाइल भ्यान कार्यक्रम विद्यार्थी राजनीतिमा उदाहरणीय पहलका रूपमा लिइन्छ। खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री कोठाकोठामा पुर्याउने यो कार्यक्रम केवल राहत होइन, संवेदनशील नेतृत्वको अभ्यास थियो।
शिक्षक आन्दोलनका क्रममा बोलेको उनको समर्थन भाषण सामाजिक सञ्जालमा भाइरल भयो, जसले देशभरिका शिक्षक समुदायमा उनलाई प्रिय पात्र बनायो। आन्दोलन, गिरफ्तारी, प्रहरी हिरासत-यी सबै उनले देखेका मात्र होइन, भोगेका छन्। तर उनको राजनीति तोडफोडको होइन; संवाद, कूटनीति र समाधानमुखी अभ्यासमा आधारित छ। यही कारण उनी प्राध्यापक, कर्मचारी र विद्यार्थी-सबैका बीच स्वीकार्य छन्।
बौद्धिक तयारी र भौगोलिक पहुँच
हाल त्रिभुवन विश्वविद्यालयमै राजनीतिक शास्त्रमा एमफिल अध्ययनरत ओझा शैक्षिक र बौद्धिक रूपमा समेत आफूलाई निरन्तर तयार गरिरहेका छन्। पछिल्लो एक वर्ष देशव्यापी भ्रमण गर्दै उनले वस्तुस्थिति बुझ्ने प्रयास गरे। विशेषगरी आफ्नो स्ववियु सभापतिको कार्यकाल समाप्त भएको दिनदेखि आजसम्म डोटी जिल्लाका हरेक पालिका र वडासम्म पुगेर उनले सामान्य नागरिकदेखि सचेत युवासम्मका आवाज सुने-यो अभ्यास भावी संसदीय भूमिकाका लागि आधारशिला हो।
डोटीको खप्तड युवा समाजका पूर्व अध्यक्षसमेत रहेका ओझा हरेक वर्ष स्थानीय चाडपर्वमा जमघट गर्दै सुख–दुःख साटासाट गर्छन्। यसले उनी कागजी नेता होइन, समाजसँग जोडिएको नेता भएको प्रमाणित गर्छ।
गगन थापाको पुस्ता, श्यामराजको सम्भावना
आज नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापाले ‘रूपान्तरणको उद्घोष’ गरेका छन्। संयोग मात्र होइन-गगन थापा आफ्नै उमेरमा संसद प्रवेश गरेका थिए। आज त्यही क्षमता, दक्षता र साहस बोकेर श्यामराज ओझा अगाडि आउनु समयको माग जस्तै देखिन्छ। परिवर्तनको पक्षमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता नेताहरूको पुस्तासँग पछ्याउन सक्ने, संवाद गर्न सक्ने, प्रश्न गर्न सक्ने र आफ्नै पहिचान बनाउन सक्ने सामर्थ्य ओझामा देखिन्छ। त्यस कारण पनि ओझाजस्ता युवालाई गगन, विश्व र प्रदीपजस्ता पुस्ताले अगाडि बढाउँछन् कि बढाउँदैनन् भन्ने विषयमा नैतिक दबाब सिर्जना भएको देखिन्छ।
प्रतिनिधि सभातर्फको स्वाभाविक यात्रा
यही पृष्ठभूमिमा नेपाली कांग्रेसले डोटीबाट प्रतिनिधि सभाका लागि पूर्व स्ववियु सभापति श्यामराज ओझालाई उम्मेदवारका रूपमा सिफारिस गर्नु केवल राजनीतिक निर्णय होइन, पुस्तान्तरणको संकेत हो। युवापुस्ताको बलियो साथ, संगठनमा पकड, बौद्धिक क्षमता र संघर्षको इतिहास-यी सबै गुणले उनलाई बलियो दाबेदार बनाउँछन्।
श्यामराज ओझा आज व्यक्ति मात्र होइनन्; उनी सम्भावनाको नाम हुन्। विद्यार्थी राजनीतिमा खारिएर, समाजमा घुलमिल भएर, विचार र व्यवहारलाई सँगै लिएर अघि बढेका ओझा नेपाली राजनीतिमा विश्वासको नयाँ अनुहार बन्न सक्ने क्षमतामा छन्। यदि राजनीति साँच्चै जनताको आवाज बन्ने हो भने, श्यामराज ओझाजस्ता नेतृत्वहरू अब विकल्प होइन-आवश्यकता बनिसकेका छन्। के परिवर्तनित नेपाली कांग्रेसले यस्ता पदचाप राख्ने युवाहरूलाई अगाडि बढाउँला त भन्ने प्रश्न समयले वर्तमान नेतृत्वलाई सोधिरहेकै छ।






प्रतिक्रिया