
डोटी– गाउँको बाँझो जमिनलाई उपयोग गरी व्यावसायिक रूपमा कृषि पर्यटनको प्रवर्धन गर्ने लक्ष्यका साथ खुल्लेकमा युवाहरूको समूहले कृषि फर्मको उद्घाटन गरेका छन् ।
दिनप्रतिदिन बसाइसराइले मानवविहित बस्ती भइरहेका बेला युवाहरूको समूहले भने ठुलो लगानी गरेर दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ मुवासैन खुल्लेकमा पौरख कृषि तथा पशुपंक्षि फर्म स्थापना गरेका छन् ।
फर्मको बुधबार दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्काले दीप प्रज्वलन तथा आँपको बिरुवा रोपेर उद्घाटन गरेका हुन ।
२ सय रोपनी बाँझो जमिनमा स्थानी युवाहरू शेर बहादुर बोगटी, अमर खडका, भरत बोगटी, खगेन्द्र बोगटीले सो फर्ममा लगानी गरेका छन् । सञ्चालक सदस्य अमर खड्काले कृषि पर्यटनलाई प्रवर्धन गरी खुल्लेक गाउँको प्रचार प्रसार गर्ने लक्ष्य साथ कृषि क्षेत्रमा हात हालेको बताए ।
सो फर्मले फलफूल, बेमौसमी तरकारी, भैँसी तथा बाख्रा पालन, माछा पालन गरेर रेस्टुरेन्ट समेत सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
सो फर्मका सञ्चालक सदस्य शेर बहादुर बोगटीले आफूहरूलाई जीवन गुजाराका लागि अन्य आयस्रोत भए पनि गाउँको बाँझो जमिनमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरूले अभियान सुरु गरेको बताए । कृषि कर्मबाट गाउँमै रोजगारी सृजना गर्न सकिने समेत बोगटीको प्रतिबद्धता छ ।
पौरखी फर्मले २ सय रोपनी जमिन घेरबार गरिसकेको छ भने ५ किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याएर सिँचाइ पोखरी बनाइसकेको छ । आँप, लिची र केराका एक हजार पाँच सय बोट बिरुवा लगाइसकेको फर्मले चाँडै नै माछा, भैँसी र बाख्रा पालन समेत गर्ने तयारी गरिरहेको अमर खड्काले बताए ।
‘हाम्रो उत्पादन पूर्णतया अर्ग्यानिक हुनेछ, कृषि तथा पशुपंक्षीलाइ एकीकृत रूपमा अघि बढाउने उद्देश्य छ’, खड्काले भने, ‘बिस्तारै फर्मभित्रै रेस्टुरेन्ट र पिकनिक स्पटहरू सञ्चालनमा ल्याएर बाह्य पर्यटक भित्राउने छौँ ।’
युवाहरूले सुरुवात गरेको अभियानबाट प्रभावित भएको भन्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिं खड्काले नगरका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता गरेका छन् ।
प्रमुख अतिथिका रूपमा बोल्दै खड्काले कृषि कर्ममा विश्वास गर्ने पौरखी युवाहरूलाई खुल्लेकको माटोले आर्सीवाद दिने विश्वास व्यक्त गरे भने दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँका सक्रिय युवाहरूले थालेको अभियानप्रति खुसी लागेको बताउँदै वडाकै गौरवको कार्यक्रम भएको टिप्पणी गरे ।
कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले सुदूरपश्चिममै नमुना कृषि फर्म स्थापनामा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे भने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख चन्द्रकान्त पन्तले भैँसी पालनमा आफूहरूले सहयोग गर्न सक्ने बताए ।
पौरख कृषि तथा पशुपक्षी फर्म स्थापनामा सहयोग गर्ने विभिन्न कार्यालय तथा समाजसेवी, अगुवा कृषक, निर्माण व्यवसायी तथा निर्माण कार्यमा सहयोग गर्ने कामदारहरूलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो ।
उद्घाटन कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालयका निर्देशक दीपक पाण्डेय, पत्रकार, शिक्षक, जनप्रतिनिधि तथा स्थानीयबासिन्दाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया