ट्रायल पास गरेको ४ चार महिना वितिसक्दा पनि लाइसेन्स पाउने नपाउने कुनै टुंगो नरहेको शिखर नगरपालिका –१० का राजेश ठगुन्नाले गुनासो गर्नु भयो । “डोटी कार्यालयबाट प्रयोगात्मक परीक्षा पास गर्ने म पहिलो व्यक्ति हुँ,“उहाँले भन्नु भयो,“पास गरेकै दिन लाइसेन्स पाइन्छ भन्नु भएको थियो तर हालसम्म कुनै टुंगो छैन ।”
यातायात व्यवस्था कार्यालय दिपायलबाट हालसम्म ३६६ जनाले लेखित र प्रयोगात्मक परीक्षा ९ट्रायल० पास गरेको कार्यालय प्रमुख पूर्ण बहादुर शाहले बताउनु भयो । सो कार्यालयबाट ३१२ जना दुई पाङ्ग्रे सवारी चालक र ५४ जना चार पाङ्ग्रे सवारी चालक परीक्षामा पास भए पनि अनुमतिपत्र वितरण गर्न नसकिएको उहाँले बताउनु भयो ।
“लिखित र ट्रायल परीक्षा पास गरेपछि एक वर्षका लागि अस्थायी सवारी चालक अनुमतिपत्र दिने व्यवस्था छ,“उहाँले भन्नु भयो,“एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स वितरण गरिन्छ । तर, हामीले सप्टवेयरको समस्याका कारण अस्थायी लाइसेन्स समेत वितरण गर्न सकेका छैनौं । सप्टवेयरको समस्याका बारेमा विभाग र मन्त्रालयमा पटक–पटक जानकारी गराउँदा समेत समस्या समाधान हुन सकेको छैन । सेवाग्राहीले हामीमाथि प्रश्न गर्न थालेका छन् ।”
अस्थायी लाइेसेन्स वितरण गर्ने भनेर खरिद गरेको प्रिण्ट मसिन र कार्डहरु प्रयोगविहिन भएको कार्यालयले जनाएको छ । सप्टवेयरमा देखिएको स्यानो समस्या समाधानका लागि विभाग र सप्टवेयर निर्माण कम्पनीले चासो नदिदा अस्थायी लाइसेन्स वितरण सेवा अवरुद्ध भएको छ ।
यातायात व्यवस्था कार्यालय डडेलधुराबाट ५९२ जनाले लेखित र प्रयोगात्मक परीक्षा ट्रायल पास गरेको कार्यालय प्रमुख हर्ष बहादुर रोक्काले बताउनु भयो । उहाँका अनुसार हालसम्म ४५९ जनाले दुई पाङ्ग्रे र १३३ जनाले चार पाङग्रे सावारी चालक अनुमति पत्रका लागि सेवा लिनु भएको छ । त्यहाँ पनि पूर्णरुपमा अस्थायी अनुमतिपत्र वितरण गर्न सकिएको छैन । “सुरुमा कार्यालयको नाम लामो भएका कारण समस्या आएको थियो,“उहाँले भन्नु भयो बीचमा समस्या समाधानको प्रयास भयो, पुनः समस्या देखिएको छ । भारतीय कम्पनीले निर्माण गरेको सप्टवेयरको समस्या कारण अहिले वितरण प्रक्रिया रोकीएको छ । हालसम्म २४४ जनालाई मात्र लाइसेन्स वितरण गर्न सकिएको छ ।”
विभाग र सप्टवेयर कम्पिनिले चाँडोभन्दा चाँडो समस्या समाधान गरेर लाइसेन्स वितरण गर्नु पर्ने सेवाग्राहीको माग छ ।
प्रतिक्रिया