बझाङमा भूकम्पले २ दर्जन घर भत्किए

पाँजलो न्युज
२३ कार्तिक २०७९ १३:१९

बझाङ मंगलबार राति डोटीमा गएको भूकम्पका कारण बझाङमा दुई दर्जनभन्दा बढी घर भत्किएका छन् । जिल्लाभर दर्जनौं घर र सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् । भूकम्पले बझाङमा मानवीय क्षति भने भएको छैन । मध्यरातपछि २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाभर त्रास छाएको थियो । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने बाबा आश्रम आसपास केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्यूडको भूकम्पको धक्काले बझाङको खप्तड छान्ना गाउँपालिकामा ६, थलारा गाउँपालिकामा ७, केदारस्यूँ गाउँपालिकामा १, छविस पाथीभेरा गाउँपालिकामा ६ र मष्टा गाउँपालिकामा ५ घर भत्किएको प्रहरीले जनाएको छ ।

भूकम्पको धक्काले जिल्लाभर दर्जनौं घर चर्किएको खबर आएको र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । ‘क्षतिको जानकारी आएका ठाउँमा प्रहरी खटाएका छौं । कहाँ कति क्षति भयो भनेर हाम्रो टोलीले विवरण संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ‘पूरा विवरण नआइसकेकोले क्षतिको परिमाण अझै बढ्न सक्ने देखिन्छ,’ उनले जिल्ला कारागारको पर्खाल पनि चर्किएको बताए ।

भूकम्पका कारण सदरमुकाम चैनपुर नजिकै भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसका केही भवनहरू चर्किएर जोखिमपूर्ण बनेका छन् । ‘भवनका भित्ता चर्किएर छियाछिया भएका छन् । कक्षा संचालन गर्न पनि जोखिम भएको छ,’ शिक्षक शेरबहादुर ओलीले भने ।

घर भत्किएपछि बास उठ्यो

भूकम्पबाट पूर्ण रुपमा घर भत्किएपछि थलारा गाउँपालिका १, सिरेटाकी अम्बु दमाइले आफूसहित ५ जनाको परिवार विचल्लीमा परेको बताइन् । ‘भूकम्पबाट ज्यान त जोगाइयो, अब कहाँ गएर बच्चा बच्चीको टाउको लुकाउने हो,’ उनले भनिन् ‘हामी त विचल्लीमा पर्यौं ।’ उनले आफ्ना छिमेकीहरूका घर पनि भत्किएको र केहीको चर्किएर बस्न नमिल्ने भएकोले कसैकोमा आश्रय लिन पनि नसकेको बताइन् ।
सिरेटामा मात्रै सातवटा घर भत्किएका छन् भने खानी, सिरेटा र राउलीमा ७० भन्दा बढी घर बस्न नमिल्ने गरी चर्किएको वटा अध्यक्ष लोकेन्द्र विष्टले बताए । ‘अरु गाउँमा पनि थुप्रै घरमा क्षति भएको छ भन्ने जानकारी आएको छ । ७ वटा घर पूर्ण रुपमा भत्किएका छन् । कतिपय घर बस्नै नमिल्ने गरि चर्किएका छन् भने कतिपय सामान्य भूकम्पको धक्काले नै भत्किने खालका भएका छन् ।’
उनका अनुसार फेरि भूकम्प आउँछ कि भनेर स्थानीयहरू डरले घरभित्र पस्न सकिरहेका छैनन् । विस्थापितहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भने भइरहेको बताइएको छ ।
जिल्लाका अन्य पालिकामा पनि क्षति भएको र विस्थापितहरूको व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनले ठूलो भूकम्पपछि परकम्पहरू जानसक्ने भएकाले सबैलाई सतर्क रहन जिल्ला प्रशाशनले सूचना जारी गरेको बताए । सम्भावित जोखिमलाई ध्यान दिएर उद्धार, राहत र खोजी कार्यको लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *